ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा एक अर्ब २० करोड

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २० करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। मंसिर १९ गतेदेखि जनता बैंकसँग एकीकृत कारोबार थालेको बैंकको जनता बैंकले मर्जरअघि कमाएको ४५ करोड १३ लाख ३० हजार सहित सो नाफा कायम भएको हो।

यसबाट बैंकले आफ्ना शेयरधनीलाई वार्षिक १२.७४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता कायम भएको छ । एनएफआरएस रिर्पोट अनुसार राष्ट्र बैंकले तोकेको विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत रकम छुट्टाएपश्चात कायम हुन आउने फ्रि प्रोफिटलाई बैंकले आफ्ना शेयरधनीलाई लाभांशको वितरणमा उपयोग गर्न सक्दछ।

पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस अवधिसम्ममा जनता बैंकको सहित बैंकको कूल खुद नाफा २ अर्ब १३ करोड ७२ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा २ अर्ब ३६ करोड ९० लाख छ।

१८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा कायम भएको छ। बैंकको जगेडा कोषको आकार ३ अर्ब ३५ करोड ८० लाखबाट ७ अर्ब ४८ करोड ४१ लाख रुपैयाँमा, शेयरधनी कोषमा १ अर्ब ९ करोड ४० लाख छ।

बैंकको खराब कर्जा अनुपात ०.४५ बिन्दु बढेर १.२० प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा, कोषको लागत ६.७९ प्रतिशत, आधार ब्याजदर ९.६४ प्रतिशत, स्प्रेडदर ५.३१ प्रतिशत, र पूँजीकोष अनुपात ११.४७ प्रतिशत रहेको छ।