सेयर बजारमा गुल्जार, दैनिक कारोबार रकम साढे पन्ध्र अर्ब नाघ्यो

0
Shares

सेयर बजारमा बिहार छाएको छ । सेयर बजार मैत्रीछबी बनाएका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालयको बागडोर सम्हालेपछि नेप्सेमा उत्साहकजनक सुधार आएको हो ।

अर्थमन्त्रीको पुरानो ट्रायक रेकर्डकाकारण लगानीकर्तामा बढेको मनोबल, आर्थिक वर्षको समाप्ती, घट्दो ब्याजदर र बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताका कारण सेयर बजारमा २७ महिनापछि २४ सय अंकको बिन्दुमाथि पुगेको हो । यसअघि २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो ।त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला बुलिस ट्रेण्डमा छ । दुई ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक निरन्तर बढ्दै आएको हो ।

सेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २.५२ प्रतिशत अर्थात ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा पुगेको छ । बिहीबार अधिकता ९५.३१ अंकले बढेको बजार २४५९.९४ बिन्दुसम्म पुगेको थियो । यद्यपी बिक्री चापका कारण सूचक केही घटेर बन्द भएको हो । यसदिन ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ३.९० प्रतिशत, फ्लोट इन्डेक्स २.८८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९६ प्रतिशतले उकालो लागेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । अघिल्लो काारेबार दिन बुधबार १२ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । बजारमा ३१२ स्टकको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर १ लाख ८४ हजार ७१२ पटक खरिद बिक्री भएको छ ।

लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकतर्फ मोडिएपछि नेप्सेसँगै कारोबार रकममा पनि उछाल आएको हो । नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको सेयरमूल्य बढेपछि आज बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका १३ मध्ये ११ ओटा बढेको छ भने २ उपसमूहगत परिसूचक घटेको छ । जसमध्ये फाइनानस १.२७ प्रतिशतले घटेको छ भने जलविद्युत सामान्य घटेको छ। लघुवित्त, अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।

प्रतिकित्ता सेयरमूल्य ९९७.८० पुगेपछि नेपाल फाइनान्स ४२ करोड ४६ लाखड३ हजार रुपैयाँ सहित कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ । यस्तै अपर तामाकोशी हाइड्रोपावरको ३८ करोड ९१ लाख, ङादी ग्रुप पावरको ३० करोड ३२ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ करोड ९१ लाख, कुमारी बैंकको २३ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार पाँच ओटा स्टकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको हो । त्यस्तै कुमारी बैंकको ९.५३ प्रतिशत, प्रभु बैंकको सेयर मूल्य ९.५१ प्रतिशत, रिभर फल्स पावरको ९.११ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ८.५५ प्रतिशत र प्राइम कमर्सियल बैंकको ८.३७ प्रतिशतले सेयर मुल्य बढेको छ ।

आज कुमारी सबल योजनाको इकाईमूल्य कारोबारमा आएको कम्पनीमध्ये सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटदा सिन्धु विकास बैंकको सेयर मूल्य ४.५७ प्रतिशत, गुहेश्वरी मर्चेन्टको ४.२२, ९.५% एनसीसी डिबेञ्चर २०८६ को मूल्य ३.९३ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.९० प्रतिशतले घटेको छ ।

बिहीबारको कारोबारपछि कुल पुँजीकरण ३८ खर्ब ४६ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।