युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ५२ हजार ५०० पुग्यो

0
Shares

नेपाली सेयर बजारमा सबैभन्दा धेरै सेयर मूल्य रहेको युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य ५२ हजार ५०० रुपैयाँ पुगेको छ । सेयर बजार मैत्रीछबी बनाएका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालयको बागडोर सम्हालेपछि उत्साह छाएको बजारमा कम्पनीको सेयर मूल्य पनि उच्च रुपमा बढेर नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार कम्पनीको सेयर अधिकतम ८.६२ प्रतिशतले बढेर ५२ हजार ९९९ रुपैयाँसम्म पुगेको थियो । तर अन्तिम समयमा ७.५९ प्रतिशतले बढेर ५२ हजार ५०० रुपैयाँमा कारोबार बन्द भएको हो । दिनभरमा कम्पनीको कुल ३११ कित्ता सेयर कारोबार भयो । अघिल्लो दिन बुधबार कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४८ हजार ७९४ रुपैयाँ ७० पैसा थियो । यससँगै युनिलिभर नेपाल लिमिटेड नेपाली बजारमा ५० हजार रुपैयाँभन्दा माथि सेयर मूल्य हुने पहिलो कम्पनी बनेको छ ।

न्यून चुक्ता पुँजी रहेको कम्पनीले पुँजी वृद्धि गर्ने निर्णय गरेको अवस्थामा कम्पनीको सेयर मूल्य उच्च रुपमा बढेको हो । विसं २०८० मंसिर २६ गते सम्पन्न साधारण सभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरेर २ अर्ब १४ करोड रुपैयाँ पुर्याउने निर्णय भएको थियो । उत्पादन तथा प्रशोधनमुलक समुहमा सूचीकृत यस कम्पनीको हाल अधिकृत पुँजी ३० करोड रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ ।

चुक्ता पुँजी न्यून रहेको कम्पनीले बोनस वितरण गर्ने आशामा मूलय आकासिएको हो । गत वर्ष प्रतिसेयर १५८० रुपैयाँ नगद लाभांश वितरण गरेको यस कम्पनीले लगानीकर्तालाई हरेक वर्ष प्रति १ हजार रुपैयाँ भन्दा माथि नगद लाभांश दिँदै आएको छ ।

छिमेकी मुलुक भारतमा मद्रास रबर फ्याक्ट्री (एमआरएफ) सबैभन्दा महंगो सेयरको रुपमा कायम छ । उक्त कम्पनीको प्रतिकित्ता सेयर मूल्य १ लाख ३० हजार भारतीय रुपैयाँमा कारोबार भइरहेको छ ।

कम्पनीले लक्स, लाइफब्वाय, रिन, ह्वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेण्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ । लन्डनमा मुख्यालय रहेको कम्पनी युनिलिभरले नेपालमा युनिलिभर इन्डियामार्फत ८० प्रतिशत सेयर लगानी गरेको छ । युनिलिभरले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आइरहेको छ । कम्पनीमा हिन्दस्थान युनिलिभर मुम्बईको ७ लाख ३६ हजार ५६० कित्ता, सिवक्रिम होल्डिङ्ग प्राली नेपालको ४६ हजार ३५ कित्ता र सर्वसाधारणमा १ लाख ३८ हजार १०५ कित्ता सेयर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।