जनरल इन्स्योरेन्सको बीमा शुल्क १५७ प्रतिशतले बढ्यो, आईपीओ पनि आउँदै

0
Shares

जनरल इन्स्योरेन्सको खुद बीमा शुल्कसंकलन रकम १५७.५५ प्रतिशतले बढेको छ। गत आवको ६ महिनामा ५ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको यस कम्पनीले चालु आवको यसै अवधिमा १३ करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जनरल इन्स्योरेन्सले खुद नाफा पनि ८.५२ प्रतिशतले बढाउँदै १ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले १ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ०१ पैसा रहेको छ। उसको जगेडा कोषमा ३ करोड ४७ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ०१ पैसा छ। यस्तै बीमा कोषमा ३ करोड ८५ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३९ लाख रुपैयाँ सञ्चित छ।

पुस मसान्तसम्ममा कम्पनीले २८ हजार ६२७ बीमालेखबाट २९ करोड ११ लाख कूल बीमाशुल्क संकलन गरेको छ ।  यस अवधिमा कम्पनीले ५८३ दाबी भुक्तानी वापत ७ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४३५ वटा दाबीमा परेको ५ करोड १८ लाख भुक्तानी गर्न बाँकी रहेको छ।

हाल १ अर्ब जारी पूँजी रहेको कम्पनीले ३० प्रतिशत बराबरको ३० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्त समेत गरिसकेको छ। बीमा समितिको निर्देशन अनुसार निर्जीबन बीमा कम्पनीले न्यूनतम १ अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ।