सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाहमा नेपाल लाइफको ध्यान

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स (NLIC)  कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ को उद्घाटन गर्दे बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने बताए ।

सीईओ झाले भने, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।’

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अभिकर्ताहरुले आम नागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बीमा गराउन सुझाव दिए ।पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको बताए ।

त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताए ।

१४ अर्ब ७ करोड बीमा शुल्क संकलन

नेपाल लाइफको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ।

कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्मा १४ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।