मौद्रिक नीतिले सेयर बजारमा उछाल, नेप्से ११३ अंकले बढ्यो

0
Shares

सेयर बजार आइतबार ४.४१ प्रतिशत अर्थात ११३.४२ अंकले बढेको छ। शुक्रबार सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिले लचिलो कार्यदिशालाई अंगिकार गरेसँगै नेप्सेमा उच्च वृद्धि भएको हो ।आइतबारको वृद्धिसँगै बजार सूचक नेप्से २६८१.५६ बिन्दुमा पुगेको छ । 

साउन मसान्तसम्म पाकेको ब्याजलाई गत आवको नाफामा समावेश गर्न पाउने र असल वर्गको कर्जाको प्रोभिजनिङ्ग घटेपछि बैंकको मुनाफा बढ्ने आधारले आज बैंकिङ्गका सेयरमा उच्च वृद्धि भएको हो । बैंकिङ्ग बढेसँगै समग्र नेप्सेमा उच्च सुधार देखिएको हो । आइतबार कारोबार सुरु भएपछि २ ओटा सकारात्मक सर्किट लागेर बजार बन्द भयो । तेस्रो सर्किट लाग्न नसकिएपछि बजार सम्हालिएर अगाडि बढेको थियो ।

मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको थियो। त्यस्तै, क्यापिटल एडिक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बढाउनु, रेगुलेटरी रिजर्भको रकम टियर टू क्यापिटलमा गणना गर्न पाउनेजस्ता व्यवस्था नीतिमा आएपछि बजारल छलाङ मारेको हो ।

धितोपत्र बजारमा प्रयोग हुने सर्किट ब्रेकर के हो ? कारोबार कसरी रोकिन्छ ?

आइतबार लघुवित्त बाहेक बाँकी १२ ओटै उपसमुहगत सूचकमा हरियाली छाएको छ भने बैंकिङ्ग सर्वाधिक ९.८९ प्रतिशतले बढेको छ । यस्तै लगानी ५.७५ प्रतिशत, विकास बैंक ४.८७ प्रतिशत, जीवन बीमा ४.२४ प्रतिशत, अन्य ३.१९ प्रतिशत, निर्जीवन बीमा २.६८ प्रतिशत, ब्यापार २.६१ प्रतिशतले बढेको छ । सबैभन्दा कम होटल तथा पर्यटनमुलक ०.४६ प्रतिशत र हाइड्रोपावर ०.८३ प्रतिशतले बढेको छ ।

आजको बजारमा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ। कुल ३१८ कम्पनीका ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १ लाख ६३ हजार ८१० पटक खरिद बिक्री भए ।

आज कुमारी बैंकको सबैभन्दा धेरै ३६ करोड १० लाख रुपैयाँ बरारबरको १७ लाख ६ हजार ५८२ कित्ता सेयर ३ हजार ४९४ पटकमा खरिद बिक्री भएको हो ।

त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको करिब ३५ करोड तथा हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्ट्सको ३२ करोड धेरैको कारोबार भएको छ।

सबैजसो वाणिज्य बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको आइतबारको बजारमा कुल २२ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आजको बजारमा १३ ओटा वाणिज्य बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सीयल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, उपकार लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, एभरेष्ट बैंक, लक्ष्मी सनराईज बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्फ्रास्टक्चर बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र एशियन हाइड्रोपावरको सेयर मूल्य ९.६५ प्रतिशतभन्दा धेरैल बढेको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको ८ प्रशिततभन्दा बढी र आत्मनिर्भर लघुवित्त, माईखोला हाइड्रोपावर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उता आज गणपति लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.३५ प्रतिशतले घटेको छ। यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को इकाई मूल्य ५.७१ प्रतिशत, लक्ष्मी लघुवित्तको ४.६० प्रतिशत, नाडेप लघुवित्तको ३.७७ प्रतिशत र विजय लघुवित्तको सेयर मूल् ३.४६ प्रतिशतले घटेको छ ।
कारोबार संङ्ख्याको आधारमा आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ३ हजार ७६५ पटक कारोबार भयो ।

आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब ८६ करोड ५६ लाख ८६ हजार ९४५ रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।