नेप्सेमा १०० अंकको उतार–चढाव, साढे ३५ अंकमा बन्द हुँदा होटल र फाइनान्समा अधिक आकर्षण

0
Shares

सेयर बजारमा मंगलबार १००.८७ अंकको उतार चढाव देखिएको छ । तीव्र बढढ्ने र घट्ने क्रम चलेको मंगलबारको बजार १२ बजेर ४० मिनेटमा न्यूनतम २६०९.०२ बिन्दुसम्म झरेको थियो भने दिउँसो २ बजेर ४० मिनेट जाँदा अधिकतम २७०९.८९ पुग्यो । अन्त्यमा ३५.५५ बिन्दुमा झरेर बजार २६९६.६५ अंकमा बन्द भएको छ ।

तीव्र उतार चढाव झेलेको बजारमा होटल तथा पर्यटनमुलक र फाइनान्स उपसमूहगत सूचकमा अधिक आकर्षण देखिएको छ । आज सेन्सेटिभ इन्डेक्स ३.२३ अंक, फ्लोट इन्डेक्स २.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ अंकले बढेको छ ।

मंगलबार १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४३ रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ। ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर २ लाख ६ हजार ६४३ पटकमा कारोबार भएको हो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २ अर्ब ३४ करोड २८ लाख रुपैयाँले घटेको हो । सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको कारोबार भउको थियो ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये होटल तथा पर्यटन मुलक सर्वाधिक ५.९९ प्रतिशत बढेको छ भने फाइनान्स ५.९८ प्रतिशत बढेको छ । त्यस्तै अन्य ३.५२, जलविद्युत ३.१२, लगानी ३.१५ र विकास बैंकको इन्डेक्स २.४० प्रतिशतले बढेको छ। उता आजको बजारमा बैंकिङ्ग ०.७६ प्रतिशत, म्युचुअल फन्ड ०.१४ प्रतिशत, निर्जीवन बीमा ०.३६ प्रतिशत र व्यापार ०.५७ प्रतिशतले घटेको हो ।

हिमालयन रि इन्स्योरेन्सको मंगलबार सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड १० लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भयो । शिवम् सिमेन्टको ३७ करोड ६७ लाख, सोल्टी होटलको ३६ करोड ४३ लाख, नेपाल फाइनान्सको ३५ करोड ३८ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको २७ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी सिईडिबी हाइड्रोपावरको २७ करोड ६४ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २५ करोड ९७ लाख, कुमारी बैंकको २५ करोड ३९ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनीको २४ करोड ३३ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २४ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

आजको बजारमा ८ ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स, मध्य भोटेकोशी जलविद्युत कम्पनी, हाथवे इन्भेष्टमेन्ट कम्पनी नेपाल र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै सगरमाथा जलविद्युत कम्पनीको ९.४५ प्रतिशत, १०.७५% एनएमबि डिबेञ्चर २०८९।९० को ९.३६ प्रतिशत र समृद्धि फाइनान्सको ९.२५ प्रतिशतले मूल्य बढेको छ। ग्रीन लाइफ हाइड्रोपावर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, ओरियन्टल होटल र सिनर्जी पावर डेभलपमेनट लिमिटेडको ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

एशियन हाइड्रोपावरमा नकारात्मक सर्किट

एशियन हाइड्रोपावरको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ। कम्पनीको मुल्य १० प्रतिथशतले घटेर ७९२ रुपैयाँमा झरेको हो । यस्तै गणपति लघुवित्तको ६.११ प्रतिशत, ग्लोबल आइएमइै ब्यालेस्ड फन्ड–१ को ४.७२ प्रतिशत, ८.५०% प्रभु बैंक डिबेञ्चर २०८७ को ३.९० प्रतिशत र युनिलिभर नेपाल लिमिटेडको ३.६५ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।