कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा जोखिम, विश्वको आर्थिक वृद्धि प्रक्षेपणमा कटौती

0
Shares

विश्वको आर्थिक वृद्धि प्रक्षेपण कटौती गरिएको छ ।

चीनमा नयाँ कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा जोखिम बढेको भन्दै बेलायती आर्थिक पत्रिका द इकोनोमिष्टको प्रकाशक ‘द इकोनोमिष्ट ग्रूप’अन्तर्गतको अनुुसन्धान तथा परामर्शदाता संस्था इकोनोमिष्ट इण्टलिजेन्स युनिट (ईआईयू) ले बुधवार विश्वको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको हो ।

ईआईयूका अनुसार सन् २०२० मा विश्व अर्थतन्त्र २ दशमलव २ प्रतिशतले बढ्ने छ । यस अघि गरिएको प्रक्षेपणमा भने यो दर २ दशमलव ३ प्रतिशत रहेको थियो ।

व्यापार विवाद, अमेरिका चीन एवम् भारतको ‘रियल’ कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिमा आएको तीव्र कमी र यूरोपेली संघ (ईयू) का केही देशमा छाएको राजनीतिक अनिश्चयका कारण विश्वको आर्थिक वृद्धिदर सन् २०१९ भर नै सुस्त रह्यो ।

सन् २०२० को शुरु देखि भने कोरोना भाइरसका कारण विश्वको वृद्धिदरमा जोखिम उत्पन्न भएको ईआईयूको भनाइ छ । भाइरसले चीनको आर्थिक गतिविधिमा उल्लेख्य प्रभाव पारेको छ ।

यस्तोमा ईआईयूले चीनको वृद्धि प्रक्षेपणमा उच्च कटौती गरेको छ । उसका अनुसार यस अघि ५ दशमलव ९ प्रतिशतले बढ्ने भनिएको चिनियाँ अर्थतन्त्र ५ दशमलव ४ प्रतिशतले घट्नेछ ।

भाइरसको प्रकोप मार्चको अन्त्यसम्ममा नियन्त्रणमा आउने अनुमानमा यस्तो प्रक्षेपण गरिएको हो ।

भारतीय आर्थिक वृद्धिदर प्रति भने ईआईयू बुलिश देखिएको छ ।

कोरोना भाइरसको महामारी चीनमाझैं भारतमा फैलिदैंन भन्ने अनुमानमा यस वर्ष अर्थतन्त्र ६ दशमलव १ प्रतिशतले बढ्ने बताइएको छ ।