एक खर्ब १८ अर्ब बराबरका एक हजार ८४८ ठेक्का सम्झौता रुग्ण अवस्थामा

0
Shares

पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न मन्त्रालय अन्तर्गतका रुग्ण ठेक्काहरुको संख्याको एक हजार ८४८ रहेको एक अध्ययनले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानले गरेको अध्ययन अनुसार कुल एक खर्ब १८ अर्ब एक करोड बराबरका ठेक्का सम्झौता रुग्ण अवस्थामा रहेको देखिएको हो ।

जसमा एक खर्ब १८ अर्ब बराबरका १ हजार ८४८ ठेक्काहरु सम्झौता बमोजिमको समयावधि भित्र सम्पन्न हुन नसकी रुग्ण अवस्थामा रहेको उल्लेख छ ।

आयोगका अनुसार ग्रामिण र दुर्गम क्षेत्रमा वर्थिङ्ग केन्द्र निर्माण गर्ने देखि खानेपानी योजनाको निर्माण, सडक निर्माण, पुल निर्माण, राजमार्ग स्तरोन्नति, विद्युत ट्रान्समिसन लाइन निर्माण लगायतका ठेक्का रुग्ण अवस्थामा पाइएका छन् ।

रुग्ण अवस्थामा रहेका एक हजार ८४८ ठेक्काहरु मध्ये एक हजार ३२ ठेक्काहरुको सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न गर्नु पर्ने म्याद समाप्त भएकोमा सो म्याद थप सम्बन्धी निर्णय समेत नभएको पाइएको छ । रुग्ण ठेक्काहरुमध्ये एक बर्षको अवधिमा ६१८ वटा ठेक्का सम्झौताहरु अन्तर्गतका कार्यहरुको निर्माण सम्पन्न भएको अख्तियारको अध्ययनले देखाएको छ ।

रुग्ण अवस्थामा रहेका ठेक्का सम्झौताहरुमध्ये २८ वटा ठेक्काहरुको सम्झौता अन्त्य गरिएको देखिन्छ भने ८६ अर्ब ४४ करोड बराबरका एक हजार २०२ वटा ठेक्का सम्झौताहरु हालसम्म पनि क्रमागत अवस्थामा रहेको पाइएको छ । क्रमागत अवस्थामा रहेका रुग्ण ठेक्का सम्झौताहरु मध्ये ४९ वटा ठेक्का सम्झौताहरुको मात्र म्याद थप सम्बन्धी निर्णय भएको देखिएको अख्तियारले जनाएको छ ।