उतार-चढाव पूर्ण नेप्से १ हजार ४०० बिन्दुमै अडियो, २ अर्ब १२ करोडको कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से १ हजार ४०० बिन्दुमा अडिएको छ । निकै उतार चढापपूर्ण रहेको मंगलबारको बजार सकारात्मक भएर बन्द भएको हो।

पछिल्लो दुई दिन लगातार ५६ अंकको उच्च वृद्धिसँगै मंगलबार बजारमा करेक्शनको अपेक्षा गरिएपनि बजार पुन १.७७ बिन्दुले बढेको छ । यससँगै पछिल्लो ३ दिनमा नेप्से ५८.०३ अंकले बढेको छ । यसअघि गत बिहीबार सामान्य अंकको गिरावट आएपनि यस साता नेप्सेमा वृद्धि कायम नै रहेको छ ।

आज १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर २० हजार ८५९ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब १२ करोड ५९ लाख ७७ हजार रुपैयाँ पुगेको हो। सोमबार १ अर्ब ८८ करोड ४४ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार थप २४ करोड १५ लाख रुपैयाँले कारोबार बढेको हो।

बजारमा आएको सुधारले कारोबारमा पनि उत्साह देखिएको छ । यसदिन कारोबारमा आएका उत्पादनमूलक र सामूहिक लगानी कोषको सूचक १ प्रतिशतले बढेको छ भने विकास बैंक, बैंकिङ्ग र ब्यापारको सूचक १ प्रतिशतभन्दा कमले सुधारिएको छ । होटल र जलविद्युतको इक्डेक्स १ प्रतिशत बढीले घट्दा निर्जीबन बीमा, जीबन बीमा, लघुवित्त, अन्य, वित्तको सूचक भने घटेका छन्।

मंगलबार बैंकिङ्ग सहित बीमा समूहको पनि शेयरको माग उच्च भएको छ। जसले उच्च कारोबार हुने दश कम्पनीमा ५ बैंक र ३ बीमा कम्पनी समेटिएका छन्। एनआईसी एशिया बैंकको सर्वाधिक १० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ भने एनएमबि, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्टस्, नेपाल लाइफ, शाइन रेसुङ्गा, शिखर इन्स्योरेन्स, नेपाल बैंक, प्रभु बैंक र नेको इन्स्योरेन्सको उच्च कारोबार भएको छ ।

९ महिनापछि मंगलबारबाटै बजारमा कारोबार खुलेको कालिका लघुवित्त र घलेम्दी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा लक्ष्मी लघुवित्तका शेयरधनीले ५.६८ र पाँचथर पावरका लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाएका छन्। कूल १८१ कम्पनीको कारोबार भएकोमा ५४ कम्पनीको शेयरमूल्य बढ्दा १२२ कम्पनीको घटेको हो।