कर्जा भुक्तानी गर्न नसकेपछि हाइड्रोपावर कम्पनी नै लिलामीमा

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुबाट आयोजना निमार्ण गर्न लिएको ऋण लामो समयसम्म तिर्न नसकेपछि तीन मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामी हुने भएको छ।

आयोजना निमार्णका लागि हाइड्रोपावर कम्पनीमा लगानी गरेका ६ वटा बैंक तथा वित्तीय संस्थाले गत पुस १६ गते कान्तिपुर पत्रिकामा कर्जा भुक्तानी गर्ने ३५ दिने सूचना प्रकाशित गरेको थियो।

ऋण तिर्न आउन बैंकले पटक पटक ताकेता गर्दा समेत ऋणी तथा जमानिकताएले ऋण तिर्न नआएपछि सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको हाइड्रोपावर नै लिलामी गरेर चल अचल सम्पत्ती लिलाम बिक्रीबाट कर्जा असुली गर्नुपर्ने अवस्था आएको हो।

सो कर्जा भुक्तानी नभएपछि बैंकले मालपोत कार्यालय सिन्धुपाल्चोकमा दर्ता रहेको तातोपानी गाविस वडा नं. ४ को कित्ता नं. १९२ र २०६ को क्रमश १०–५–३–० तथा ४–३–१–१ क्षेत्रफलको जग्गा तथा जग्गामा रहेको भैरवकुण्ड हाइड्रोपावर र सो अन्तर्गत निर्मित सम्पूर्ण घर, टहरा साथै सोमा जडान भएका सम्पूर्ण प्लान्ट, मेशीनरी, उपकरण साथै सम्पूर्ण चल अचल सम्पत्ती र सोको लिगलगापात समेत बिक्री गर्न लागिएको हो।

सो हाइड्रोमा बैंक तथा वित्तीय संस्थाको करिब ४० करोड रुपैयाँ ऋण लगानी छ। आयोजनामा ऋण लिँदा २३ जना ब्यक्तिगत जमानिकर्ता र ६ वटा संस्थागत जमानिकर्ता बसेका थिए। सानिमा बैंकको अगुवाईमा बैंक अफ काठमाण्डू, एनएमबि बैंक, एनआईसी एशिया बैंक, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैंकले आयोजना निमार्ण एवं सञ्चालन गर्न सहवित्तीयकरण कर्जा प्रवाह गरेका थिए।

जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोसीमा आएको बाढीका कारण समेत परियोजना क्षति पुगर पुर्ननिमार्णपछि पुनः सञ्चालनमा आएको थियो । हाइड्रोपावरका सञ्चालकहरुमा सुरेन्द्र भण्डारी, रामकाजी पौडेल, राजेश श्रेष्ठ, मनोरञ्जन शर्मा र पदम बहादुर श्रेष्ठ रहेका छन्।

लिलामी मार्फत किन्न इच्छुक लगानीकर्ताले सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट ५०० तिरि आवेदन फारम प्राप्त गरि बोलकबोलको १० प्रतिशत रकम सानिमा बैंकको खाता नम्बरमा जम्मा गर्नुपर्ने हुन्छ।

बाँकी रकम बोलपत्र स्वीकृति भएको १५ दिनभित्र बाँकी रकम बुझाई सम्पत्ति नामसारी लिन सकिने बताइएको छ।  लिलाम आवेदन बुझाउने अन्तिम दिन फागुन २२ गते बिहीबार कार्यालय समयभित्र रहेको छ।

कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको हाइड्रोपावर कम्पनी रजिष्ट्रारको कार्यालयमा सो कम्पनी २०५९/६० मा दर्ता भएको थियो ।