दुई लघुवित्त गाभेको एनआरएन लघुवित्तले थप दुई लघुवित्त आफूमा समाहित गर्ने, १६ गते साधारण सभा आह्वान

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत नरहेको एनआरएन लघुवित्तले स्थापनाको एक वर्षमा नै ४ वटा लघुवित्त संस्थाहरुसँग मर्जर सम्पन्न गरेर सबल बन्ने तयारी गरेको छ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको एनआरएन लघुवित्त कम्पनीले यसअघि क्रियटिभ र रामारोशन लघुवित्तलाई आफुमा समाहित गरेर गत भदौदेखि एकीकृत कारोबार सुरु गरेको थियो।

कम्पनीले फागुन १६ गते होटल साथी, धनगढी, कैलालीमा बिहान ११ बजे डाकेको प्रथम वार्षिक साधारण सभामा किसान लघुवित्त र दिब्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्ने निर्णय गर्ने भएको छ ।

सभामा शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने, मर्जसम्बन्धी हालसम्म भएका निर्णयहरु अनुमोदन गर्ने, केन्द्रीय कार्यालयको ठेगाना, नाम, कार्यक्षेत्र र सञ्चालक समिति गठन गर्ने प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ ।

यसैगरि क्रियटिभ र रामारोशन लघुवित्तको मर्ज अनुमोदन गर्ने तथा किसान र दिब्य लघुवित्त मर्जपश्चात पूँजी संरचनामा आउने परिवर्तन अनुसार अधिकृत, जारी, तथा चुक्ता पूँजी वृद्धि हुने हुँदा सो अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

एकीकृत संस्थाको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हालको एनआरएन लघुवित्त वित्तिय संस्थाबाटै रहने सहमति छ । मर्जर पश्चात संस्था ५२ करोड पूजी सहित १३० भन्दा बढि शाखाबाट १ लाख सदस्यमा सात वटै प्रदेशमा उपस्थिती जनाउन सफल हुनेछ। चैत्र भित्र नै एकिकृत कारोबार गर्नेगरि प्रकृया अगाडि बढाइएको छ

मर्जर सम्झौता अनुसार मर्जर पश्चात हकप्रद शेयर तथा एफपिओ निष्काशन गर्ने सहमति भएको छ । यसपश्चात १ अर्ब पूँजी सहितको एक राष्ट्रियस्तरको सफल तथा शसक्त लघुवित्तका रूपमा स्थापित हुने लक्ष्य लिएको छ।