सुनको भाउ आकाशियो, आइतबार प्रतितोला ७०० रुपैयाँले महङ्गो

0
Shares

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालीमा बजारमा पनि सुनको भाउले आकाश छुन थालेको छ । फागुन ११ गते आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला ७८ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै तेजावी सुन पनि प्रतितोला ७०० रुपैयाँले बढेर ७८ हजार ५०० रुपैयाँमा पुगेको छ। चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ९१५ रुपैयाँमा निर्धारण भएको छ।

सुनको भाउ बिहीबार र शुक्रबार प्रतितोला पाँच।पाँच सय रुपैयाँले बढेको थियो। शुक्रबार चाँदीको भाउ भने स्थीर रहेको हो।

सुनको भाउले पछिल्ला दिनहरुमा दिनदिनै नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। फागुन ८ गते बिहीबार हालसम्म कायम भएको रेकर्डलाई तोडेर सर्वाधिक मूल्यमा कारोबार भएकोमा त्यसपछि बढिरहेको छ। कोरोना भाईरसका कारण विश्व अर्थतन्त्र सुस्ताउँदा मानिसहरुले सुनमा लगानी गर्न खोज्दा भाउ आकासिएको सुन व्यवसायीहरु बताउँछन्।

विहेको सिजनमा सुनको भाउ दैनिक उकालो लाग्न थालेपछि कारोबार प्रभावित भएको व्यवसायीहरु बताउँछन्। अघिल्लो वर्ष फागुनमा दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्री हुने गरेकोमा अहिले दैनिक २०/२२ किलोमा सीमित भएको महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए।

प्रकाशित मिति: ११ फागुन २०७६, आइतबार  १० : ५४ बजे