‘उद्योगी व्यवसायीको आशा र भरोसाको संवाहक बनेर काम गर्छु’ : चन्द्रप्रसाद ढकाल

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन्।

काठमाण्डौंमा बुधबार आयोजित एक कार्यक्रममा ढकालले आगामी चैत्रमा हुने महासंघको ५४औं वार्षिक साधारण सभामा महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन्। कार्यक्रममा बोल्दै उनले आफू सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो र मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, उनले भने।

“तपाईहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु,” कार्यक्रमका बोल्दै उनले आफ्नो प्रतिवद्धता व्यक्त गरे।

राज्य–निजी क्षेत्रबीचको सहकार्यले मात्र देशमा सम्मृद्धि ल्याउन सहयोग पुग्ने बताउँदै उनले त्यसका लागि आफूले पहल गर्ने बताए।

साथै उनले निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमाकाँध मिलाएर अगाडि बढ्ने बताए।

“महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो।,” उनले भने

कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पूर्व उपाध्यक्षहरु, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, जिल्ला नगर तथा वस्तुगत संघका अध्यक्षलगाएत निजी क्षेत्रको ठूलो उपस्थिति रहेको थियो।

को हुन चन्द्रप्रसाद ढकाल ?

बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन। उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरेका छन्।

उनी आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन्।

कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुन्।

समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुन्। उनी हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन्।

प्रकाशित मिति: १४ फागुन २०७६, बुधबार  १५ : ५३ बजे