सिटिजन्स बैंकद्वारा बर्दिवासको राष्ट्रिय आधारभूत विद्यालयलाई सहयोग

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बर्दिवास नगरपालिकाको वार्ड नं ३, भब्सी, महोत्तरी स्थित विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई उक्त सहयोग प्रदान गरेको हो।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास चोकबाट करिब ५ कि.मि. उत्तरतर्फ अवस्थित यस विद्यालयले स्थापनाकाल देखि नै त्यस क्षेत्रभित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै आएको छ ।

सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गर्ने कुरा जनाएको छ। नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ।

यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।