अपि पावरले बोनस र हकप्रद पश्चात पुनः ९० प्रतिशत हकप्रद बिक्री गर्ने

0
Shares

अपि पावर कम्पनी (API) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर वितरण तथा बोर्डबाट स्वीकृत भएको ४७ प्रतिशत हकप्रद शेयर बिक्री गरे पश्चात पुनः ९० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ ।

कम्पनीले आगामी चैत ७ गते कार्की ब्यांक्वेट, माईतिघरमा बोलाएकोे १६ औँ वार्षिक साधारण सभामा उक्त प्रस्ताव लाने भएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ प्रतिशत बोनस वितरण गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ। ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८१ करोड ७२ हजार पुग्नेछ।

कम्पनीले सोही चुक्ता पूँजीको १ बराबर ०.९०९६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। उक्त हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४३ करोड पुग्नेछ । हकप्रदबाट प्राप्त रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने प्रसताव पनि पारित गर्नेछ। कम्पनीको साधारण सभाले ५ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि ७ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । कम्पनीको बोनस पाउन फागुन २९ गते बिहीबारसम्म शेयरधनी कायम हुनुपर्नेछ ।