शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

0
Shares

शिवम सिमेन्टको चैत ५ गते मंगलबार ४ करोड ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

शिवम् सिमेन्टको शेयर सूचीकृत भएसँगै नेप्सेमा उत्पादन तथा प्रशोधन उपसूचकमा थप एक कम्पनी थपिएको छ। यसअघि यस उपसमुहमा १८ वटा कम्पनी सूचीकृत रहेका थिए।

कम्पनीको बुझाएको वित्तीय विवरण अनुसार नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ४८४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले फागुन ६ देखि १४ गतेसम्म शेयर निष्काशन गरि ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणमा र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख ८५ हजार ३०५ कित्ता र सामूहिक लगानी कोषका लागि ६० हजार कित्ता शेयर गरि कूल ५२ लाख ८० हजार कित्ता शेयर फागुन २२ गते बाँडफाँड गरेको थियो।

शिवमले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गरेको थियो।शिवम् उत्पादनमूलक कम्पनीबाट प्रिमियम मूल्यमा साधारण शेयर जारी गरेको पहिलो सिमेन्ट कम्पनी हो।