वोमी माइक्रोफाइनान्सको १५ प्रतिशतले घट्यो लाभांश

0
Shares

वोमी माइक्रोफाइनान्स (WOMI) को लाभांश १५.४७४ प्रतिशतले घटेको छ। लघुवित्तले यसअघि चुक्ता पूँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँको २६ प्रतिशत लाभांश प्रस्ताव गरेर स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो। तर केन्द्रीय बैंकले सो लाभांश परिमार्जन सहित १०.५३२३ प्रतिशत लाभांश मात्र वितरण गर्न स्वीकृती दिएको हो।

लघुवित्तले शतप्रतिशत हकप्रद र नागरिक लघुवित्त सहित (२५ करोड २५ लाख ७६ हजार रुपैयाँ) को पूँजीबाट यसअघि २० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

वोमी माइक्रोफाइनान्सले घाोषणा गर्यो २६ प्रतिशत लाभांश, बोनस कति ?

सो लाभांशलाई केन्द्रीय बैंकले अस्वीकृत गर्दै असार मसान्तसम्म कायम (हकप्रद र नागरिक लघुवित्त मर्जरअघि) १० करोड १० लाख ८८ हजार रुपैयाँको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको हो।

असार मसान्तको पूँजीमा २५ प्रतिशत बोनस र १.३१६ प्रतिशत नगद लाभांश वितरण गर्न राष्ट्र बैंकले दिएको निर्देशनले लघुवित्तको हाल कायम २५ करोड २५ लाख ७६ हजार रुपैयाँका आधारमा लाभांशदर १०.००५७ प्रतिशत बोनस र ०.५२६६ प्रतिशत नगद हुन आउँछ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब लघुवित्तका विद्यमान शेयरधनीलाई (हकप्रद र साविकको नागरिक लघुवित्त समेत) १०.००५७ प्रतिशत अर्थात २ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस र ०.५२६६ प्रतिशतले हुन आउने १३ लाख ३० हजार १०५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

यस्तै केन्द्रीय बैंकको लघुवित्तलाई २२ लाख १६ हजार ३५३ रुपैयाँ ग्राहक संरक्षण कोषमा दाखिला गर्न समेत भनेको छ।

यस्तै लघुवित्तले साधारण सभाका लागि फागुन ३० गते शेयर दाखिल खारेजी मिति तोकेको छ। यसअनुसार फागुन २९ बिहीबारसम्म कायम लघुवित्तका शेयरधनीले मात्र लाभांश पाउनेछन्। लघुवित्तले चैत १६ गते साधारण सभा आह्वान समेत गरेको छ।