आइतबारको शेयर बजारमा अस्वभाविक उतार-चढाव

0
Shares

बढ्दो शेयर बजारमा स्प्याकुलेशन समान्य मानिए पनि आइतबार देखिएको उतार-चढाव भने अस्वभाविक देखिएको छ। आइतबार कारोबार सुरु भएदेखि करिब डेढ घण्टाको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ अंकसम्मले बढेको तथा बढेको बिन्दुबाट ४३ अंकसम्मले घटेको छ।

विगतका केही सातादेखि निरन्तर उच्च अंकले बढेको शेयर बजारमा लगानीकर्ताले करेक्सनको अपेक्षा गरिरहेको अवस्था छ। तरपनि बजार निरन्तर उच्च अंकले नै उकालो लागेको छ। आइतबार शेयर बजार परिसूचक करेक्सन हुने सक्ने आंकलन लगानीकर्तामा रहेको भएपनि त्यसो नभै थोरै समयमा उच्च अंकले घट्ने र बढ्ने गरेको छ।

आइतबार कारोबार सुरु भएको ३ मिनेटमा २९ अंकसम्मले बढेर नेप्से परिसूचक १ हजार ६६७ दशमलव ७५ अंकको बिन्दुमा पुगेको छ। त्यसपनि बजार सूचकमा गिरावट आउन थालेपछि करिब १४ मिनेटको अन्तरालमा ४३ अंकसम्मले घटेर १ हजार ६२४.६९ अंकमा झरेको थियो ।

त्यसपछि पुन सुधारको गतीमा देखिएको नेप्से सूचक कारोबार सुरु भएको ३२ मिनेटमा ३१ अंकसम्मले बढेको छ । कारोबार सुरु भएको एक घण्टा २ मिनेटको अवधिमा बजार सूचक पुनः ३० अंकले घटेको छ । सो गिरावट पनि बजार सूचक पुन तेस्रो पटक सुधारको गतिमा देखिई १४ अंक भन्दा धेरैले बढीरहेको छ । यो समाचार तयार गर्दासम्म पूँजी बजार सूचक नेप्से १ हजार ६४० दशमलव ९२ अंकमा कायम छ ।

  • कारोबार सुरु हुँदा १ हजार ६३८.३७
  • कारोबारको करिब ३ मिनेटमा १ हजार ६६७.७५
  • कारोबार सुरु भएको १७ मिनेटमा १ हजार ६२४.६९
  • कारोबार भएको ३२ मिनेटमा १ हजार ६५६.६५
  • कारोबार भएको करिब ६२ मिनेटमा १ हजार ६२६.५७
  • एक घण्टा २७ मिनेटमा १ हजार ६४०.९२ अंकमा पुगेको छ

उच्च अंकको निरन्तर सुधार आएको बजारमा जोखिम पनि उत्तिकै हुन्छ। अहिलेको धितोपत्र बजारमा उच्च सुधार मात्र होइन विना करेक्सनको उच्च सुधारको निरन्तरताले झनै जोखिम बढाएको एक विश्लेषकले बताए।

“करेक्सन विनाको उच्च वृद्धि तथा सानो समयमा नै उच्च अंकले घट्ने वा बढ्ने गर्नु भनेको साना लगानीकर्ताका लागि जोखिम उच्च रहेको स्पष्ट हुन्छ,” ति विश्लेषकले भने,“धितोपत्र दलाल मार्फत हुने शेयर कारोबार तथा राफसाफमा नेटिङ्गका आधारमा कारोबार गर्न पाइने भएकाले कागजी मूल्याङ्कनका आधारमा धेरै कारोबार भएकाले कारोबार रकममा पनि उच्च सुधार आएको हो।”

अर्थमन्त्री डा. युवराज खतिवडालाई कारण देखाउँदै शेयर बजार प्रति निराश भएका शेयर लगानीकर्ता उनी जाने भन्ने अपुष्ट सूचनाका आधारमा लगानी गर्न हौसिएको देखिन्छ। कुनै एक व्यक्ति जिम्मेवारीमा रहने वा नरहने भन्ने विषयले आफ्नो लगानीको निर्णय गर्नु उपयुक्त नभएको शेयर विज्ञहरुको भनाई छ।

पछिल्लो सयममा बैंकहरुले मार्जिन प्रकृतिको कर्जामा सहज तथा ब्याजदर घटाउन थालेपनि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हुन सक्ने विश्लेषण गर्न सकिन्छ। तर, विश्वभरिका शेयर बजार कोरोना भाइरसका कारण २००८ को आर्थिक मन्दी हुँदाको अवस्थामा भन्दा नकारात्मक भैसकेको छन। विश्वको शेयर बजार भन्दा विपरित दिशामा चल्ने गरेको नेपाली शेयर बजारमा लगानीकर्ताले उपयुक्त अध्ययन तथा विश्लेषण गरेर लगानी गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति: १८ फागुन २०७६, आइतबार  १३ : ०३ बजे