शेयर कारोबारमा ऐतिहासिक रेकर्ड बन्दा बजारमा उच्च ‘करेक्सन’

0
Shares

शेयर कारोबारले ऐतिहासिक रेकर्ड कायम गर्दा नेप्सेमा केरेक्सन आएको छ । दैनिक कारोबारमा नयाँ नयाँ रेकर्ड बनाएको शेयर बजारमा फागुन १८ गते आइतबार हालसम्मकै उच्च कारोबार भएको छ ।

आइतबार ४ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ । यो कारोबार रकम बजार बन्द हुनु भन्दा १३ मिनेट अगाडिको हो । गत बिहीबार फागुन १५ गते शेयरमा बजारमा ४ अर्ब ४६ करोड बराबरको शेयर किनबेच भएको थियो । आइतबारको कारोबार रकमले गत बिहीबारको कारोबारको रेकर्ड तोडेको हो।

गत साताको शेयर बजारमा १८ अर्ब बढीको शेयर किनबेच भएको थियो । यो साताको पहिलो दिन कारोबारमा उच्च भएपनि लगानीकर्ताहरु नाफा सुरक्षित गर्ने होडमा लाग्दा बजारमा करेक्सन आएको छ । यसदिन नेप्से सूचक अंकले ३८ अंक बढीले घटेर १५९४ विन्दुमा झरेको छ । बजार बन्द हुनेसमयसम्म अझै घट्न सक्ने देखिएको छ।

कारोबारले ऐतिहासिक रेकर्ड कायम गर्दा एनएमबि, ग्लोबल आइएमई, नेपाल लाइफ, एनआईसिए, नेपाल बैंक लगायतको उच्च कारोबार भएको छ । एनएमबि, ग्लोबल आइएमईको २५ करोड बढीको कारोबार भएको छ । यसदिन ५ कम्पनीको मात्रै एक अर्ब बढीको शेयर किनबेच भएको छ ।