नेप्सेमा ४१ अंकको गिरावट, कारोबार रकममा ऐतिहासिक रेकर्ड

0
Shares

यो साताको पहिलो दिन आइतबारको शेयरबजारमा करिब ४१ अंकको गिरावट आएपनि हालसम्मकै उच्च कारोबार भएको छ । नाफा सुरक्षित गर्नेहरु हाबी हुँदा कारोबार बढेपनि नेप्सेमा करेक्सन देखिएको हो ।

दैनिक कारोबारमा नयाँ नयाँ रेकर्ड बनाएको शेयर बजारमा फागुन १८ गते आइतबार आइतबार ४ अर्ब ८४ करोड बराबरको कारोबार भएको छ । यो कारोबार रकम गत बिहीबारको तुलनमा ३८ करोड बढी हो ।

गत बिहीबार फागुन १५ गते शेयरमा बजारमा ४ अर्ब ४६ करोड बराबरको शेयर किनबेच भएको थियो । आइतबारको कारोबार रकमले गत बिहीबारको कारोबारको रेकर्ड तोडेको हो। गत साताको शेयर बजारमा १८ अर्ब बढीको शेयर किनबेच भएको थियो ।

आइतबार नेप्से सूचक अंकले ४०.८२ अंकले घटेर १५९१.३६ विन्दुमा झरेको छ । यसदिन १८३ कम्पनीको एक करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै एनएमबि बैंकको २६ करोड ६३ लाख बराबरको शेयर किनबेच भएको छ । ग्लोबल आइएमई पनि २५ करोड ८५ लाख बराबरको कारोबार हुँदा नेपाल लाइफ, एनआईसि एशिया पनि उच्च कारोबार भएको छ । यसदिन ४ कम्पनीको मात्रै एक अर्ब बढीको शेयर किनबेच भएको छ ।

आइतबार पनि सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट र मन्जुश्री फाइनान्सको झण्डै दश प्रतिशतले शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको शेयर मूल्य घटेको छ । जसको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति: १८ फागुन २०७६, आइतबार  १५ : १२ बजे