तीन हाइड्रोपावर शेयरधनीप्रति गैरजिम्मेवार,लामो समयदेखि वित्तीय विवरण सार्वजनिक गरेनन्

0
Shares

नेप्सेमा सूचीकृत ३२ हाइड्रोपावर कम्पनीमध्ये तीनवटा कम्पनीहरु शेयरधनीप्रति अनुत्तरदायी देखिएका छन्। नेप्सेमा सूचीकृत पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी र जोशी हाइड्रोपावर यस्ता सूचीमा परेका हुन्।

चालु आवको त्रैमास समाप्त भएको १५ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने प्रवाधान विपरित लामो समयदेखि यी हाइड्रोपावर कम्पनीले हालसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन्।

२०७५ साउनमा सर्वसाधारणमा आईपीओ जारी गरेको पञ्चकन्या माई हाइड्रोपावर (PMHL) ले हालसम्म दुईवटा मात्र वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आव २०७४/७५ को चौथौ त्रैमासिक र आव २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण मात्र सार्वजनिक गरेको छ। बाँकी पाँच वटा त्रैमासिक वित्तीय विवरण कम्पनीले सार्वजनिक नगरेको हो।

शेयरधनीप्रति अनुत्तरदायी अर्को हाइड्रोपावरको नाम हो घलेम्दी हाइड्रोपावर (GHL)। यसैगरि २०७५ माघमा सर्वसाधारणमा आईपीओ जारी गरेको घलेम्दी हाइड्रोपावरले हालसम्म कुनैपनि वित्तीय विवरण सार्वजनिक गरेको छैन ।सर्वसाधारणमा आइसकेपछि पनि चार वटा त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्नेमा कम्पनी मौन देखिएको छ।

यसैगरि २०७५ मंसिरमा सर्वसाधारणमा आईपीओ जारी गरेको जोशी हाइड्रोपावर (JOSHI) ले पनि हालसम्म एउटा पनि वित्तीय विवरण सार्वजनिक गरेको छैन । यस अवधिसम्ममा कम्पनीले पाँच वटा त्रैमासिक वित्तीय विवरण सार्वजनिक गनुपर्नेमा कुनैपनि सार्वजनिक नगरेको हो।

नियामकीय निकायद्धारा कडाई नगर्दा मनोमानी

जलविद्युत क्षेत्रमा लामो समयदेखि प्रत्यक्ष नियमनकारी निकाय नहुँदा अझैपनि यस समूहका धेरै कम्पनी आफ्ना शेयरधनीप्रति उत्तरदायी हुन सकेका छैनन्।

समग्र सूचीकृत कम्पनीहरुको नियमन नेपाल धितोपत्र बोर्डले गर्ने गरेको छ। फन्ट लाइनर रेगुलेटर नेप्सेले पनि यस्ता कम्पनीहरुलाई कारवाही गर्न सकेको छैन।

उता जलविद्युत्त कम्पनीहरुको लागि विद्युत नियमन आयोग गठन भई कार्य प्रारम्भ गरेको भएपनि सो निकायले शेयरधनीको मुद्धामा भन्दा बढी विद्युत खरीदबिक्री, प्रसारण लाईन, आईपीओ र हकप्रद निष्काशनमा मात्र केन्द्रीत हुँदै आएको छ ।

अर्कोतर्फ यी कम्पनीमा लगानी गर्ने शेयरधनीहरुले पनि यस्तो आवाज उठाउने अथवा कारवाहीका लागि नियमनकारी निकायमा निवेदन दिने गरेका छैनन्। नेपालका सबैजसो नियामक निकायहरुले उजुरी नपरि कारवाही नगर्ने परिस्थितिले पनि सूचीकृत कम्पनीहरुलाई उत्तरदायी बनाउन नसकेको जानकारहरु बताउँछन्।

वित्तीय विवरण सार्वजनिक नगरेका तीनवटै कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा अंकित मूल्यभन्दा कम रहेकाले पनि यसमा शेयरधनीको चासो दिएका छैनन्। वित्तीय विवरण सार्वजनिक नगर्दा कम्पनीको वास्तविक वित्तीय अवस्था शेयरधनीलाई जानकारी हुँदैन। यसले सूचनाको हक समेत हनन भएको देखिन्छ।