कम्पनी रजिष्ट्रारले बोनसबाट पूँजीवृद्धि रोकेपछि नेप्सेले स्थगन गर्यो स्वावलम्बनको शेयर कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार कारोबार समय पश्चात स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) को शेयर कारोबार रोक्का गरेको छ। नेप्सेले लघुवित्त कम्पनीलाई ३ दिने स्पष्टीकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

यसअघि गत आवको बोनस वितरण पश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गरि कायम गरि अभिलेख गराएको संसोधित प्रबन्धपत्रको कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएकोमा पुन: कार्यान्वयन नगराउन लघुवित्तलाई पत्राचार गरेपछि लघुवित्तको गराएको जानकारी अनुसार नेप्सेले शेयर कारोबार रोक्का गरेको हो।

यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १३ गते लघुवित्तले गत आवको मुनाफाबाट चुक्ता पूँजी ६२ करोड ८८ लाख ८८ हजार ४०० रुपैयाँको २६ प्रतिशत बोनस पूँजीकरण गरि हुन आउने जारी तथा चुक्ता पूँजी ७९ करोड २३ लाख ९९ हजार ३८४ रुपैयाँ कायम हुनेगरि प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संसोधनलाई स्वीकृति दिएको थियो।

कम्पनी रजिष्ट्रारको कार्यालयले पुन फागुन १६ गते उक्त निर्णयमा भुलवस त्रुटी हुन गएकाले निर्णय कार्यान्वयन नगर्न पत्राचार गरेपछि कम्पनीले गत पुस २० गतेको साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर पाउने सुनिश्चितामाथि पनि प्रश्न उठेको छ ।

नेप्सेको सूचीकरण शाखाले कम्पनी रजिष्ट्रारको निर्णयले लगानीकर्ताले पाउने २६ प्रतिशत बोनस शेयर तोकिएको समयमा पाउने सुनिश्चितता हुने अवस्थामा अन्यौल भई लगानीको हित विपरित भएकाले उक्त विषयको अन्तिम टुङ्गो नलाग्दासम्मका लागि लघुवित्तको शेयर कारोबार धितोपत्र सूचीकरण विनियमावली अनुसार स्थगन गरेको हो।

लघुवित्तको पुस २० सम्पन्न आर्थिक वर्ष २०७५/७६ सम्मको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश गरि कूल ४० प्रतिशत लाभांश पुस १ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीलाई वितरण गर्नेगरि अनुमोदन गरेको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालयको पत्रले बोनस वितरण गरी पूँजी बढाउने योजना स्वीकृति नदिएकाले यस निर्देशन दिएसँगै लघुवित्तका लगानीकर्ताले उक्त बोनस पाउने कि नपाउने भन्नेमा अन्योल उत्पन्न भएको हो।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार  १८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।