प्यानिक बन्दै भारतीय शेयर बजार

0
Shares

भारतीय शेयर बजार पछिल्ला दिनहरुमा निरन्तर उच्च अंकले घट्दै आएको छ। यो साता कारोबार हुने अन्तिम दिन शुक्रबार भारतीय शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।

विश्वभर फैलँदो अवस्थामा रहेको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुने भएपनि त्यसको असर भारतीय धितोपत्र बजारमा पनि देखिएको हो।

बिहीबार समान्य सुधार आएको भारतीय शेयर बजारमा शुक्रबार उच्च अंकको गिरावट आएको छ। शुक्रबार बम्बई स्टकम एक्सचेन्ज परिसूचक सेन्सेक्स ८९३ अंकले घटेको छ भने नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी २७९ अंकले घटेको छ।

शुक्रबार कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेको भारतीय शेयर बजार बन्द हुँदा सम्म घट्ने क्रम जारी रह्यो। शुक्रबार भारतीय यस बैंकमा समस्या आएपछि शेयर बजारमा त्यसको नकारात्मक प्रभाव परेको हो।

शुक्रबार मात्र यस बैंकको शेयरमूल्य ५४ प्रतिशतसम्मले घटेको छ। भारतीय शेयर लगानीकर्ताले शुक्रबारलाइ कालो दिनको रुपमा समेत बुझेका छन्। त्यसका साथै भारतीय रुपैयाँ डलरको समुन्ने कमजोर भएपछि सेयर लगानीकर्ता झनै नकारात्मक भएका हुन्।

शुक्रबार सेन्सेन्स ८९३ अंकले घटेर ३७ हजार ५७६ अंकमा पुगेको छ भने निफ्टी २७९ अंकले घटेर १० हजार ९८९ अंकमा झरेको छ । शुक्रबार सेन्सेक्समा सूचीकृत ३० कम्पनी मध्ये धेरैको शेयरमूल्य घटेको छ।

यसभन्दा अघि फेब्रअरी २८ मा भारतीय शेयर बजार सूचक सेन्सेक्स १ हजार ४४८ अंकले घटेको थियो । त्यसपछि बजेट आएको दिनमा सेन्सेक्स ९८७ अंकले घटेको थियो।

प्रकाशित मिति: २३ फागुन २०७६, शुक्रबार  २० : ०४ बजे