कृषि उत्पादन न्यून हुनुमा बैंक वित्तीय संस्था दोषी


कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेको अवस्थामा बैंक वित्तीय संस्थकाको यो क्षेत्रमा लगानी नगन्य सरह नै देखिन्छ। चालू आर्थिक वर्षको छ महिना (पुस मसान्त) सम्ममा वाणिज्य बैंकले ९.६ प्रतिशत मात्र कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रका लागि अनिवार्य १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेपनि वित्त संस्थाले यसलाइ पालन नगरेको अवस्था छ ।

त्यसका साथै कृषि ऋणका लागि बैंकमा पुगेका कृषकलाई धितो लिएर ऋण दिनसम्म झन्झट दिने गरेको किसानहरुले बताउँदै आएका छन् । बैंकहरुलाइ कृषिमा गरेको लगानी डुब्लाकी भन्ने चिन्ताले धेरै सताएको देखिन्छ । माछापुच्छ्रे बैंक बनेपा शाखाका शाखा प्रबन्धक दीपेन्द्र श्रेष्ठ कृषिमा विचौलिया हाबी हुँदै गएका, समाजमा किसानको अवस्थामा सुधार र बजारको सुनिश्चितता नदेखिएकाले लगानी डुब्ने चिन्ता स्वभाविक भए पनि राम्रो योजना लिएर आउने किसानलाई लगानी गर्दै आएको दाबी गरे ।

वित्तीय संस्था कृषिमा लगानी गर्न नरुचाउने बताउदै कृषि विज्ञ कृष्ण पौडेलले भने, ‘‘राष्ट्र बैंकको अनिवार्य नीतिका कारण मात्र धेर थोर लगानी गरेर किसानको मुखमा मल्हमपट्टी लगाउने काममा सीमित रहेको छ ।’’

व्यावसायिक किसानको संख्या धेरै छैन । साना तथा मझौला किसानको संख्या ठूलो छ। पौडेल भन्छन, ‘‘साना किसानले योजना बनाउन जान्दैनन् । बैंकहरु शुरुमै योजना सोध्छन् । भुक्तानी तालिका (किस्ता) को डर देखाउँछन् । किसान झस्कन्छन् । उनीहरुलाई ऋण लैजान प्रोत्साहन गर्नुको सट्टा शुरुमै त्रास देखाइन्छ ।’’ उत्पादन गर्न समय लाग्छ भन्ने कुरा थाहा भए पनि वित्तीय संस्थालाई लगानी गरेको अर्काे महिना नै किस्ता चाहिन्छ । उत्पादनमा प्रोत्साहित गर्नु र विस्तारै ऋण तिर्दै जानुहोस् भनेर सिकाउने र ऋण लिन उत्साहित गर्ने निकाय नै नभएका कारण कृषि व्यवसायीकरण बन्न नसकेको धारणा कृषि क्षेत्रका जानकार रामकृष्ण ढकालको रहेको छ ।

चालू आर्थिक वर्षको छ महिनामा कृषि क्षेत्रको लगानी ९.६ प्रतिशतमा सीमित भए पनि बैंक तथा वित्तीय संस्थाले सो अवधिमा आवधिक कर्जा १५.०८, ओभरड्राफ्ट ५.०४, आयात कर्जा २.४, डिमान्ड तथा चालू पूँजी कर्जा १०.०१, रियल स्टेट कर्जा ८ प्रतिशत, हायर पर्चेज १.१ प्रतिशत पु¥याएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको माद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत लघुवित्त वित्तीय संस्थाले आफ्नो कूल कर्जाको एक तिहाइ अनिवार्य कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ। २०७६ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले आफ्नो कूल कर्जाको ४१ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेको बताए पनि उत्पादन भने उत्साहप्रद पाइँदैन ।

बैंक तथा वित्तीय संस्थाको २०७६ पुस मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६४ दशमलव शून्य ९ प्रतिशत घरजग्गा धितोमा र १३ दशमलव शून्य पाँच प्रतिशत कृषि तथा गैर कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ। २०७६ पुस मसान्तसम्म कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार ७९१ ऋणीको ४५ अर्ब आठ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ। त्यसैगरी सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत तीन हजार १८७ ऋणीको एक अर्ब ९३ करोड कर्जा बक्यौता रहेको अर्धबार्षिक समिक्षामा उल्लेख छ।