कोरोनाका कारण हवाई क्षेत्रको मात्र ४ अर्ब क्षती हुने


विश्वभर फैलिदो क्रममा रहेको कारोना भाइरसका कारण नेपाली हवाई क्षेत्र पनि प्रभावीत भएको छ । कोरोनाको सक्रमण वढ्दै गएसंगै विदेशी हावाई यात्रुमा आएको कमीले यो क्षेत्रले आगामी तिन महिनामा ४ अर्ब रुपैयाँ बरावरको क्षती ब्यहोनुपर्ने अनुमान गरीएको हो ।

होटल क्षेत्रमा धमाधम बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव नेपालको हवाई उद्योगमा पर्ने भएकाले वैकल्पिक बजारको खोजी थालिएको वायु सेवा सञ्चालक सघंका महासचिव योगराज कँडेल शर्माले बताए ।

“कोरोनाको प्रभावले हवाई क्षेत्रमा अबको तीन महिनामा ४ अर्ब क्षति हुने अनुमान गरेका छौँ, अहिले जहाजको इन्स्योरेन्स तिर्न र मर्मत खर्च निकाल्न धौधौ परेको छ, त्यसैले हवाई उद्योग बचाइदिन सरकारलाई गुहारेका हौँ ।”

वायु सेवा सञ्चालक संघले यही फागुन २३ गते विज्ञप्ति निकालेर कोरोना भाइरसको हल्लाका कारण आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाएको थियो ।
हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शर्माले हवाई क्षेत्रमा पनि सबैभन्दा बढी हेलिकप्टर व्यवसाय मारमा परेको बताए । वसन्त ऋतुको अगाडि आरोहीलगायतका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेको उनले जानकारी दिए ।

हेली एभरेष्टको मात्रै १३२ बुकिङ भएकामा ५२ वटा रद्द भइसकेका छन् । सोही अनुपातमा अन्य हेलिकप्टरको पनि बुकिङ रद्द हुनेक्रम बढेको संघले जनाएको छ । अहिले सार्वजनिक सेवामा रहेका १० हेलिकप्टर कम्पनीका ३३ हेलिकप्टर छन् यिमध्ये ३० हेलिकप्टर उडानयोग्य छन् । अहिले देनिक एक÷दुई वटा मात्र उडान भइरहेका छन् । त्यसैगरी जहाजतर्फ आन्तरिक उडानमा नौ वायु सेवा प्रदायक कम्पनीले उडान गरिरहेका छन् ।

महासचिव शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कोरोनाको हल्लाले दैनिक तीन हजार यात्रु घटेका छन् । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यो संख्या दैनिक चार हजार बढाएर सात हजार पु¥याउने योजना थियो । सबैभन्दा बढी हेलिकप्टरको ५० प्रतिशतभन्दा बढी उडान कटौती भएको छ । जहाजतर्फ ठूला वायु सेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सलगायतको उडान संख्या सन्तोषजनक रहे पनि डलर यात्री घटेपछि आर्थिक कारोवार ह्वात्तै घटेको महासचिव शर्माको भनाई छ ।

विदेशीको चहलपहल घटेपछि देशका प्रमुख पर्यटकीय गन्तब्यमा व्यावसायिक सम्भावनाको खोजीका लागि प्याकेज बनाएर सहुलियत मूल्यमा हेलिकप्टर तथा जहाज सञ्चालन गर्ने योजना बनाइएको संघले जनाएको छ । व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन १० हजार रुपैयाँको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरिएको महासचिव शर्माले जानकारी दिए ।

त्यसैगरी मुख्य पर्यटकीय क्षेत्र पोखरालगायत गन्तव्यमा पनि यस्तो प्याकेज बनाइनेछ । आन्तरिक गन्तव्यमा जाने यात्रुलाई विशेष छुट ‘अफर’लगायत व्यवस्था गरिने व्यवसायीको भनाइ छ । अहिलेको अवस्था निरन्तर रहे हेलिकप्टर तथा जहाज ग्राउण्डेड गर्न बाध्य हुने बताउँदै संघका महासचिव शर्माले अहिले कम्पनी बचाउनका लागि खर्च कटौती र विभिन्न तौरतरिका अपनाइएको उल्लेख गरे ।

कोरोनाको प्रभावले मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा शून्य दशमलव चार प्रतिशत असर पुग्ने एशियाली विकास बैंकले प्रारम्भिक प्रक्षेपण गरेको छ । वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुनःकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । व्यवसायीको मागका सन्दर्भमा सरकारले पनि कोरोनाको हवाई क्षेत्रमा के कस्तो असर परेको छ भनी नियामक निकायसँग विवरण लिएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोरोनाको प्रभावले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कति क्षति पुग्छ भनी व्यवसायीसँग यकिन विवरण लिएर सरकारलाई सिफारिस गरिने बताए । वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न माग गरेको छ । हवाई इन्धनमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउनसमेत व्यवसायीले अनुरोध गरेका छन् । विश्वका ९५ देशमा ‘कोभिड–१९’ को संक्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना संक्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म तीन हजार ५०० जनाको मृत्यु भएको छ ।