भोटेकोशी बाढीः जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन


जुम्ला । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डिएनए परीक्षणको नमुना सङ्कलन गरिएको छ ।

जिल्लाको पातारासी गाउँपालिकाका ३३ र गुठीचौरका छ जनाको डिएनए परीक्षणको नमुना सङ्कलनगरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिए ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमइका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सहकार्यमा पातारासी र गुठीचौरका प्राप्त आफन्तको रगतको नमुनामध्ये ३९ वटाको डिएनए परीक्षण भइसकेको छ । बाँकीको नमुना सङ्कलन काठमाडौँमा भएको जानकारीमा आएको उनले बताए । नमुनाको ‘प्रोफाइल’ निकालेर डिएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बाढीमा परेर जिल्लाका ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।