अन्तरर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

0
Shares

कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु संख्या घटे पनि जहाजको उडान संख्या भने करिब ८० प्रतिशत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तरर्राष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान संख्या भने कमी नआएको बताए। अन्तरराष्ट्रिय हवाई मापदण्डअनुरुप हवाई उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान नरोके पनि उडान घटाइरहेका छन् ।

कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ। तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाई छ। कोरोनाका कारण नेपालवाट हुने अन्तरराष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो।

अन्तरर्राष्ट्रिय यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आंकलन गरिएको छ। विमानस्थल सेवावापत वार्षिक ६ अर्बभन्दा बढी कमाउने त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलले कोरोनाका कारण करिब ४ अर्ब रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ।

प्राधिकरणको मुख्य आम्दानी गर्ने अन्तरर्राष्ट्रिय विमानस्थल हो। अरू विमानस्थल नाफामै भए पनि सञ्चालन खर्च धान्नै मुस्किल हुने प्रवक्ता क्षेत्रीले बताए। “कोरोनाको त्रासले विदेशी यात्री घटेपछि विमानस्थललाई पनि आर्थिक नोक्सानी हुन्छ, हाम्रो (प्राधिकरण)को मुख्य आम्दानी नै अन्तरर्राष्ट्रिय विमानस्थल हो, यसका यात्री घटेपछि स्वाभाविक रुपमा आम्दानी घट्छ”, उनले भने।

प्राधिकरणका अनुसार अन्तरर्राष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तरराष्ट्रिय उडान हुन्थ्यो भने अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ। ठूलो सङ्ख्यामा उडान भइरहे पनि यात्रुको संख्या ह्वात्तै घटेको छ। यसले विमानस्थलको विजिनेसलाई समेत नराम्रो असर पारेको सरोकारवालाको भनाई छ। पहिला अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले करिब ५ हजार ५ सय यात्रु आगमन भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

  • कुन एयरलाइन्सको कति कटौती ?

कोरोनाको प्रभावले सबैभन्दा बढी चीनको उडानमा कटौती भएको छ। नेपाल र चीन दुवैतर्फको उडानमा भारी कटौती भएको हो।प्राधिकरणका प्रवक्ता क्षेत्रीको भनाईमा चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ।

नेपालबाट चीनमा उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान गर्दै आएकामा अहिले सबै बन्द गरेको छ। चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायु सेवा प्रदायकले पनि उडानमा भारी कटौती गरेका छन्।

प्राधिकरणका अनुसार एयर चाइनाले सातामा १४ उडान गर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ। चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ। चाइना स्ट्रनको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ। त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान गर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको प्राधिकरणको विवरणमा उल्लेख छ।

चीनबाहेक अन्य गन्तव्यका उडान कटौती भएको छैन तर नेपालका तर्फबाट नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले दोहामा आजदेखि तत्कालका लागि उडान स्थगन गरेका छन्। कतारबाट नेपालको उडान भने नियमित भइरहेको छ। कतारले दैनिक तीन उडान गरिरहेको विमानस्थलले जनाएको छ । भारतको नयाँदिल्लीलगायत गन्तव्यको उडान पनि नियमित भइरहेको छ।

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार  २० : १९ बजे