वर्तमान अवस्था कतिपय वस्तुको उत्पादनमा आत्मनिर्भर हुने अवसरः अर्थमन्त्री

0
Shares

फैलँदो कोरोना भाइरस समस्या मात्र नभै अवसरको रुपमा पनि लिनुपर्ने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्। अहिलेको समयमा कतिपय वस्तुहरु उत्पादनमा अत्मनिर्भरतर्फ जाने महत्वपुर्ण अवसर पनि रहेको मन्त्री खतिवडाले बताएका हुन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको छलफलको विषयमा जानकारी दिँदै मन्त्री खतिवडाले आन्तरीक उत्पादन बढाउने महत्वपुर्ण अवसर रहेको बताएका हुन्।

उनले अत्यावश्यक वस्तुुको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै अनावश्यक हल्लाको पछि लागेर वस्तु भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन्। ६ महिनासम्म पुग्ने अत्यावश्यकीय वस्तु मौज्दात रहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारे ।

सरकारले औषधिजन्य वस्तुमा भारतले केही निकासी प्रतिबन्ध लगाएको बाहेक भारतबाट हुने आयात स्वभाविक ढङ्गले अघि बढिरहेको मन्त्री खतिवडाको भनाई थियो। “अन्य वस्तुमा समस्या छैन, केही औषधिजन्य वस्तुमा भारतले प्रतिबन्ध लगाएको सन्दर्भमा भन्सार विन्दुमा आएको वस्तु छुटाउने र अन्य विषयमा कूटनीतिक तहमा वार्ता गरी आवश्यकीय वस्तु अभाव हुन नदिन अनुरोध गरिसकिएको छ,” उनले भने,“त्यसमा पनि अब समस्या छैन। मन्त्री खतिवडाले चाहे औषधिजन्य वस्तु होस, चाहे औद्योगिक कच्चापदार्थ होस, चाहे उपभोग्य वस्तु होस, या पेट्रोलियम पदार्थ होस, कुनैमा समस्या नरहेको उनले जनाए।

उनले निजी क्षेत्रले पनि सामान बिक्री गर्दा तपाईहरु धेरै नकिन्नुस्, हामीसँग पर्याप्त स्टक छ भनेर उपभोक्तालाई सम्झाउनुपर्ने आवश्यकता औँल्याए। उनले दक्षिणतर्फबाट आउने व्यापारमा कुनै अवरोध नभएको समेत स्पष्ट पार्दै उत्तरी नाका तर्फबाट पनि रोकिएका वस्तुको अनुगमन गरी जोखिमरहित अवस्थामा व्यापारलाई सहजीकरण गर्न सकारात्मक रहेको जानकारी दिए।

खरीद गर्ने मान्छेले एक महिनालाई चाहिने औषधि चार महिनाको किनिदियो भने हिसाब नमिल्ने भन्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले खाद्यान्न र औषधि झण्डै ६ महिनाका लागि पुग्ने र इन्धन तीन महिनालाई पुग्ने गरी मौज्दात रहेको उनले जानकारी दिए। कृत्रिम अभाव सिर्जना गर्ने र अस्वभाविक मूल्य असुल गर्नेलाई सामाजिक अपराधका रुपमा कारवाही गर्नेसमेत सरकारले चेतावनी दिएको छ। समितिको यो तेस्रो बैठक हो। यसअघि फागुन २२ मा बसेको दोस्रो बैठकले कोरोना भाइरस भित्रिन नदिन गरिएको विगतको प्रयासको समीक्षा गर्दै थप उच्च सतर्कता अपनाउने निर्णय गरेको थियो। सरकारले कुनै समस्या परेमा तत्कालै खटिने गरी मुख्य सचिवको नेतृत्वमा ‘एक्सन कमिटी’ बनाइसकेको छ।

मन्त्री खतिवडाले निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको उल्लेख गर्दै व्यावसायिक अनुशासन प्रदर्शन गर्नसमेत निजी क्षेत्रलाई अनुरोध गरे। निजी क्षेत्रले मास्कको उत्पादन बढाएकाले अब त्यसको आपूर्ति सहजतर्फ उन्मुख भएको समेत उनले बताए । बैठकमा बढी जोखिम बहन गर्नुपर्ने मान्छेले मात्रै मास्क लगाउनुपर्ने कुरा जनमानसमा सूसुचित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

निजी क्षेत्रबाट मास्कको थप उत्पादन शुरु भएकाले अब बजारमा अभाव नहुने मन्त्री खतिवडाले जानकारी दिए। नेपाल औषधि व्यवसायी सङ्घले ८० प्रतिशतसम्म औषधि स्वदेशमै उत्पादन गर्नसक्ने जनाएको छ। स्वदेशमै औषधि उत्पादन गर्ने हो भने आवश्यक सहयोग गर्न सरकार तयार रहेको भनेर आश्वासन दिइएको डा खतिवडाले बताए। स्वास्थ्य मन्त्रालयले स्तरीय मापदण्डको आधारमा सूचना प्रवाह गर्ने भएकाले उक्त सूचनालाई आधिकारिक मान्न मन्त्री खतिवडाले सबैलाई आग्रह गरे।

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार  २० : ५२ बजे