मन्दीको त्रासमा अमेरिकी स्टक बजारमा १० प्रतिशतसम्मको गिरावट

0
Shares

कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै प्रभावित आर्थिक गतिविधिका कारण अमेरिकाको केन्द्रीय बैंक संघीय रिजर्बले चालेको सङ्कटकालीन कदमसँगै वाल स्ट्रीट स्टक बजारमा सोमबार १० प्रतिशतको गिरावट आएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) सँग लड्न अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ ९फेड०ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै शून्य दशमलब २५ कायम गरेसँगै आइतबार स्टक बजारमा पनि यस प्रकारको हलचल देखिएको हो ।

अमेरिकामा अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि ७ खर्ब डलरको आर्थिक सहायता कोषको पनि घोषणा गरिएको छ । अमेरिकाको यो कदम बेलायत, जापान, यूरोक्षेत्र, क्यानडा र स्वीट्जरल्याण्डसँग गरिएको सहकार्यको एक भाग हो ।

फेडका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा नकारात्मक असर कम गर्न यो योजना ल्याइएको बताए । उनकाअनुसार ब्याजदर शून्यदेखि ०.२५ को बीचमा राख्ने निर्णय भएको छ ।

आइतबार करिब २० मिनेटको कारोबारमा नै डो जोन्सको औद्योगिक कारोबार औसतमा २० हजार ६६९ दशमलब ४२ अङ्क अर्थात् १०.९ प्रतिशतमा झरेको थियो । यद्यपि त्यसपछिको १५ मिनेटमा भने स्टक कारोबारमा सामान्य सुधार देखिएको थियो।

समग्रमा एस एन्ड पी को कारोबारमा १० प्रतिशत गिरावट भई दुई हजार ४२२ दशमलब ६९ अङ्क देखिएको छ भने प्रविधिमा सम्पन्न नासाक कम्पोजिट सूचकाङ्कमा पनि १०.५ प्रतिशतको गिरावट भई सात हजार ५१ दशमलब ७७ अङ्कमा सिमित भएको छ ।

अमेरिकामा सेयर बजारमा गिरावट एशिया र यूरोपमा देखिएको सेयर बजारको गिरावटसँगै सुरू भएको छ । खासगरी फ्रान्स र स्पेनमा कोरोना भाइरसका कारण परेका असरहरूले अमेरिकी सेयर बजारमा पनि प्रभाव परेको हो।

यसअघि गत मार्च ३ मा पनि फेडले आपतकालीनरुपमा ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंकले घटाउने निर्णय गरेको थियो । यो सन् २००८ वित्तीय संकटयता गरिएको पहिलो आपतकालीन ब्याजदर कटौतीको निर्णय थियो।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडको यो निर्णयले आफूलाई निकै खुसी बनाएको बताउनुभएको छ । पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिएसँगै शेयर बजार पनि उल्लेख्य मात्रामा घटेका छन्।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  ०७ : १६ बजे