प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम


प्रभु बैंकले जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको संयुक्त आयोजनामा बैंकले जिल्लाका महिलालाई वित्तिय साक्षरता अभिबृद्धि गर्ने उदेयश्का साथ साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगे पनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताएका थिए । बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउदै उनले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताएका थिए । धनपैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न पंगेनीले आग्रह गरे ।

कार्यक्रममा प्रभू बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँ गाउँमा बैंक विस्तार गरिसकेकाले पनि सवैमा वित्तिय साक्षरता बढाउँदै जानुपर्ने बताएका थिए ।

सेजनका अध्यक्ष भीम गौतमले ग्रामिण क्षेत्रमा सहकारी तथा वित्तीय क्षेत्रमार्फत करोडौंको आर्थिक कारोबार हुने तर उत्पादनमूलक क्षेत्रमा लगानी नहुने, कारोबारबारे महिला नै स्पष्ट नहुने भएकाले वित्तीय साक्षरता सञ्चालन गरिएको बताए । आफ्नो पुँजीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न उनले महिलालाई आग्रह समेत गरे ।

कार्यक्रममा झन्डै ४० जनाको सहभागिता रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाको अभावमा उत्पादनमुखी क्षेत्रमा लगानी गर्न नसकेको बताएका थिए । “सहकारीमा बचत पनि गरेका छौं, ऋण पनि लिन्छौं, तर आम्दानी देखिँदैन ।” चन्दननाथ सहकारीमा आवद्ध बेलु चनाराले भनिन “कतिपय अवस्थामा सावाँ ब्याजबारे पनि हामीलाई जानकारी हुँदैन ।” कर्णालीका अधिकांश महिलाहरु वित्तीय साक्षरता नभएकै कारण सामान्य हिसाब किताब राख्न पनि नसक्ने अवस्थामा छन् ।