हेलिकप्टरबाट कोरोनाभाइरस विरुद्धको औषधि छर्कने समाचार भ्रामक नेपाली सेना


नेपाली सेनाले सामाजिक सञ्‍जालहरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोरोना भाइरस विरुद्ध कीटनाशक ‍औषधि छर्किन भनी फैलाएको सन्देशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले भनेको छ– विश्वभर फैलिदै गएको कोरोना भाइरसको उच्‍च जोखिमलाई मध्यनजर राखी नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ । यसका अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरी कीटनाशक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ ।

साथै हालको संवेदनशील घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेनाले सबैमा अनुरोध गरेको छ, विज्ञप्तिमा भनिएको छ ।

सेनाले कोरोना भाइरस विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाइरसको उच्च जोखिम विरुद्ध रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ ।