लामो दूरीका यात्रु चाप व्यवस्थापनबारे उच्चस्तरीय समन्वय समितिको बैठकले सम्बोधन गर्ने

0
Shares

लामो दूरीका यात्रुबाहक सवारीसाधनको सञ्चालनमा रोक लगाएपछि उत्पन्न परिस्थिति र अवस्थलाई सहज गर्न उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आज निर्णय गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, यातायात व्यवसायी, ट्राफिक प्रहरी बीचको शनिबार सम्पन्न छलफलमा यात्रु चाप व्यवस्थापन र उपत्यका छाड्ने यात्रुलाई कसरी सुरक्षित रूपमा घर र्पुयाउने विषयमा छलफल पश्चात सो विषयलाई उच्चस्तीय बैठकबाट सम्बोधन गर्नेगरि टुङ्गाउने निष्कर्षमा पुगेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नोटबजारसँग कुराकानी गर्दै व्यवसायीहरूसँग उपलब्ध बसले पुग्ने यात्रु चापलाई थेग्नसक्ने अवस्था नरहेको बताउँदै लामो दूरीमा गएका गाडी फर्कनसक्ने अवस्था नरहँदा गाडीको तेल खर्च, यात्रु चालक, तथा सहचालकको स्वास्थ्य सुरक्षा र उपकरणमा सरकारले ध्यान दिनुपर्ने माग गरेको जनाकारी दिए।

छलफलमा सवारी साधन रोक्ने निर्णय गर्दासबै (आन्तरिक हवाई उडान, निजी तथा सार्वजनिक) रोक्नुपर्ने कुरा आफूहरुले राखेको जानकारी दिए। यात्रुको चाप थेग्न मुश्किल भएपछि धनगढी, दाङ लगायत पश्चिमाञ्जल क्षेत्रका लामो दूरीमा शनिबार नै महासंघको तर्फबाट ३०-४० बस थपेर सेवा प्रदान गरिएको उनले बताए।

मन्त्री नेम्वाङले व्यवसायीहरुको मागप्रति सरकार सकारात्मक रहेका बताउँदै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा व्यवसायीको मागबारे छलफल गरि व्यवसायीको माग सम्बोधन गर्ने बताएको महासचिव सिटौलाले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले चैत १० गते सोमबारदेखि लामो दूरीका यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउने बताएका थिए। यससँगै लामो दूरीमा जाने यात्रुको बसपार्कहरुमा भीड लागेको छ। पछिल्लो तीन दिनमा मात्रै पाँच लाख बढिले उपत्यका छाडिसकेका छन्।

यातायात मन्त्रालयले निजी क्षेत्रका व्यवसायीको गाडीले नपुगे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालक र सवारीसाधन समेत प्रयोग गर्ने अवस्था आउने तर्फ बताएपनि सोबारे निर्णय भने गरिसकेको छैन। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा जारी रहेको छ । 

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा घोषणा गर्नुभएका कुराहरु कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: ८ चैत २०७६, शनिबार  १९ : ४६ बजे