पुनर्बीमाको आईपीओ: ७० प्रतिशत आवेदकलाई ४० कित्ता

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ४ देखि ७ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा पछिल्लो तथ्याङ्क अनुसार ७० प्रतिशत आवेदकले ४० कित्ता शेयर बाँडफाँड गर्नपुग्ने देखिएको छ।

पुनर्बीमाको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले नोटबजारलाई उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार उक्त आईपीओमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन्।

आईपीओ ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका माग भएको छ। यो सर्वसाधारणमा माग भएको तुलनामा ३.८० गुणा बढी हो।

सर्वसाधारणमा जारी भएको कित्ता र आवेदक संख्याका आधारमा हरेक आवेदकलाई ४० कित्ता बाँडफाँड गर्न १ करोड ६२ लाख ८८ हजार ८८० कित्ता शेयर आवश्यक पर्छ। तर कम्पनीले सर्वसाधारणबाट माग गरेको शेयरसंख्या (१ करोड ५१ लाख २६ हजार ५०० कित्ता) ४० कित्ताका दरले बाँडफाँड गर्न चाहिने संख्याभन्दा १२ लाख ६२ हजार ३८० कित्ता कम छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सबै आवेदकलाई १० कित्ताका दरले ३० कित्ता समानुपातिक रुपमा बाँडफाँड गरि बाँकी रहेको शेयर पुन गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड हुन्छ।

जसअनुसार आवेदक संख्याको ७० प्रतिशतले गोलाप्रथाबाट प्राप्त हुने थप १० कित्ता सहित ४० कित्ता र ३० प्रतिशत आवेदकले ३० कित्ता शेयर पाउनेछन्। यद्यपी यो उपलब्ध प्रमाणिकरण भएको अन्तिम तथ्याङ्क नभएकाले प्रमाणिकरण पश्चात कायम हुने तथ्याङ्कमा पश्चात केही प्रतिशत तलमाथि हुन भने सक्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा कूल १ करोड ६० लाख कित्ता शेयर बिक्रीमा ल्याएकोमा ७३ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सर्वसाधारणबाट आवेदन खुला गरिएको हो।

आइपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो। कम्पनीको आईपीओलाई इक्रा नेपालले आधारभुत पक्ष बलियो जनाउने इक्रा एनपी आईपीओ ग्रेड २ प्रदान गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.५६ रुपैयाँ रहेको छ।