नेपाल लाइफ बन्यो झनै बलियो कम्पनी, ४८ प्रतिशत लाभांश पारित

0
Shares

जीवन बीमा कम्पनीहरुमा अग्रणी रहदै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी झनै बलियो कम्पनी बनेको छ ।

शनिबार विरगञ्जमा सम्पन्न १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको ४८ प्रतिशत लाभांश पारित गरेसँगै चुक्तापूँजीको आधारमा नेपाल लाइफ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा ठूलो बनेको छ ।

बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ हुनेछ । उक्त पुँजी जीवन बीमा क्षेत्रकै सर्वा्धिक रकम हो । कुल बीमाशुल्क आम्दानीमा करिब ३२ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ ।

इन्स्योरेन्सको साधारण सभाले शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

नेपाल लाईफले साधारण सभा प्रयोजनका लागि बैशाख १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार गत वैशाख १७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्। वैशाख १८ गते मजदुर दिवसको सार्वजनिक विदाका कारण शेयर बजार बन्द थियो । 

साथै कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ कायम गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायतको प्रस्ताव समेत पारित गरेको छ ।

हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा एक लाख २२ हजार भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेको कम्पनको दावी छ ।

देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेकोछ ।