‘कोभिड–१९’– इटालीमा भयावह कायमै, अमेरिकामा सङ्क्रमित १ लाख ४४ हजार

0
Shares

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७७९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ। सोमबारसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ ।

चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ । यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रही आएको देखिएको छ ।

इटालीमा सङ्क्रमण हुनेहरु ९७ हजार ६८९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।

यता विश्वमै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको शक्तिशाली मुलुक अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४४ हजार २८० नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ। अमेरिकामा २ हजार ५९७ जनाको मृत्यु भएको छ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ७ हजार ३४० जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८५ हजार १९५ पुगेका छन् । पछिल्लो दिन मात्रै ५ हजार ८५ नयाँ बिरामी थपिएका छन् भने ५३७ जनाको ज्यान गएको छ। यहाँ १६ हजार ७८० नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ । यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार साँझ साढे ८ बजेसम्म संसारभर ७ लाख ४१ हजार ७७४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३५ हजार ३३४ नागरिकको ज्यान गएको छ । सोमबार सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ५६ हजार ६०२जना उपचारपछि घर फर्किएका छन् ।

चैत १७ गते सोमबार मात्रै विश्वभर १८ हजार ३८४ जना नयाँ संक्रमित भएका छन् भने १ हजार २७० को मृत्यु भएको तथ्याङ्क छ।
चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०४ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ४७० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७५ हजार ७०० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा यस सङ्क्रमणका कारण २ हजार ७५७ जनाको मृत्यु भएको छ । हाल ४१ हजार ९९५ जना सङ्क्रमित रहेका छन् । सोमबार मात्रै ३१८६ नयाँ स्रक्रमित थपिएका छन् भने ११७ जनाले ज्यान गुमाएको छन्। १३्र हजार ९११ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ५६० व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६३ हजार ९२९ जना सङक्रमित रहेका छन् । यहाँका ९ हजार २११ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण २ हजार ६०६ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४० हजार १७४ सङ्क्रमित रहेका छन् । यहाँका ७ हजार २०२ नागरिक उपचारपछि घर फर्किएका छन् ।

संयुक्त अधिराज्य (बेलायत) मा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार ४१५ व्यक्तिको मृत्यु भएको छ । यहाँका १९ हजार ५२२ सङ्क्रमित भएका छन् । यहाँका करिब १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३३३ व्यक्तिको मृत्यु भएको छ । १५ हजार ५२६ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ८२३ जना भने उपचारपछि घर फर्किएका छन् । नेडरल्याण्डमा यस सङ्क्रमणबाट ८६४ व्यक्तिको मृत्यु भएको छ । ११ हजार ७५० सङ्क्रमित भएका छन् । यसैबीच २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा सङ्क्रमणको कारण ५१३ व्यक्तिको मृत्यु भएको छ । ११ हजार ८९९ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ५२७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण सोमबार पाँच सहित १५८ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ६६१ सङ्क्रमित भएका छन् । ५ हजार २२८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १३१ मृत्यु भएको छ । ९ हजार २१७ सङ्क्रमित भएका छन् । अष्ट्रियामा १०८ मृत्यु हुनुको साथै ९ हजार ३७७ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५४ मृत्यु भएको छ । एक हजार ८६६ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा २९ को मृत्यु भएको छ । एक हजार ७१ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा सोमबार ६ जना सहित २० मृत्यु भएको छ । एक हजार ६५० सङ्क्रमित भएका छन ।

नेपालमा हालसम्म ५ जनामा यो संक्रमण देखिएको छ। १ जना निको भएर घर र्फिकएको अवस्था छ भने कुनै पनि व्यक्तिको यस रोगबाट मृत्युवरण गर्नुपरेको अवस्था छैन। सरकारले थप ८ दिन लकडाउनको अवधि थप गरेकाले के कतिमा संक्रमित छन् यस अवधिमा हुने परिक्षणबाट पत्ता लाग्नेछ।

नेपालमा हालसम्म ९९३ वटा परीक्षण गरिएकोमा ९८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

प्रकाशित मिति: १७ चैत २०७६, सोमबार  २० : ५४ बजे