लकडाउनमा ग्याँस अभाव गहिरिएपछि निगम आफैँले थाल्यो वितरण

0
Shares

सरकारले लकडाउन समयअवधि लम्बाएपछि उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको अभाव सम्बोधन गर्न नेपाल आयल निगमले आफैँले घुम्ति सेवा मार्फत मंगलबारदेखि ग्यास वितरण गर्न थालेको छ।

साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी तोकिएको खुद्रा मूल्य लिई निगमले घुम्ती एलपी ग्यास बिक्रीवितरणको शुरुवात गरिएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने ‘अति आवश्यक पर्ने उपभोक्ताले हामीले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्नुहुनेछ, साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोड क्षेत्रमा मात्र ग्यास वितरण गर्ने निर्णय गरेका हौँ, उनले भने, ‘सकेसम्म माग भएका ग्यास सिलिण्डर नै दिनेछौँ, हामीले ग्यास उद्योगहरुसँग ग्यास खरिद गरेर उनीहरुको आवश्यकता र सहजताका लागि सोही ग्यास वितरण गर्नैछौँ।’

  • यस्तो छन् १२ वर्ग

निगमका प्रवक्ता उपाध्यायले लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर आज टेकुमा रहेको आयल निगमको कार्यालयबाट ग्यास वितरणको तयारी थालिएको जानकारी दिएका छन ।

उनका अनुसार निगमले अस्पताल, वृद्धाश्रम, बिरामी।असहाय, अनाथालय, फरक क्षमता भएकालाई ग्यास वितरण शुरु गरेको छ ।
त्यस्तै किरिया बसेको घर, बालाश्रम।बालगृह, पुनर्उत्थान केन्द्र÷सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय÷संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने छ ।

ग्यास नभएको गुनासो राख्न निमगले पाँच सम्पर्क नम्बर तोकेको छः कार्यालयका सम्पर्क नम्बर ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ ।

प्रकाशित मिति: १८ चैत २०७६, मंगलबार  १२ : २७ बजे