लकडाउनमा टेलिकमका सेवाहरुमा छुटै छुट


नेपाल टेलिकमले डेटा तथा इन्टरनेट सेवामा भारी छूट दिने भएको छ ।

लकडाउनका बेला दूरसञ्चार सेवामा २५ प्रतिशत छूट दिने सरकारको निर्णय अनुसार टेलिकमले चैत २० देखि २६ गतेसम्मका लागि विभिन्न छूट तथा बोनस योजना सार्वजनिक गरेको हो ।

टेलिकमले जीएसएम मोबाइल डेटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छूट दिने जनाएको छ । जीएसएम मोबाइल डेटा र सीडीएमए मोबाइल डेटामा प्रतिएमबी कर सहित क्रमशः ९० पैसा र ५१ पैसा शुल्क लाग्नेछ ।

आफ्ना सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा टेलिकमले जीएसएम सेवामा डाटा प्याक उपलब्ध गराउने छ । जसअनुसार पहिलो प्याकेजअन्तरगत १ सय रुपैंयामा एक जीबी डाटा खरिद गर्दा तीन जीबी बोनस डाटा उपलब्ध गराउनेछ । यसरी प्राप्त बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनसम्म खपत गर्न सकिनेछ ।

दोस्रो प्याकेजमा २ सय रुपैंयामा दुई जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ । यो बोनस डाटा कम्पनीको फोरजी नेटवर्कमा ७ दिनसम्म खपत गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

१ सय रुपैंयामा बोनस सहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त गर्न सकिनेछ । कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छूट उपलब्ध गराउने निर्णय समेत टेलिकमले गरेको छ ।

पहिलो प्याकेजमा एक दिनका लागि ४० मिनेटको भ्वाइस प्याक २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस प्राप्त हुनेछ । यसैगरी दोस्रो प्याकेजमा सात दिनका लागि १९० मिनेटको भ्वाइस प्याक १ सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ ।

त्यस्तै २५ रुपैयाँमा एक दिनका लागि बोनस सहित ६० मिनेट र १ सय रुपैयाँमा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त गर्न सकिनेछ ।

यूएसएसडी र नेपाल टेलिकमको एपबाट खरिद गर्न सकिने डाटा तथा भ्वाइस प्याकहरु स्टे कनेक्टेड अफरको रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यूएसएसडीबाट प्याकेज खरीद गर्न *1415*10# डायल गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त कम्पनीले आफ्नो ल्यान्डलाइन सेवाको फागुन र चैत्र महिनामा लाग्ने जरिवाना वैैशाख मसान्तसम्मका लागि मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकलाई सेवा निरन्तर रुपमा उपलब्ध हुने गरी यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अवधिभरका लागि थप गर्ने निर्णय टेलिकमले गरेको छ ।