चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट, घट्यो शेयर कारोबार

0
Shares

मंगलबारको शेयर बजारमा चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। समूहगत उपसूचकतर्फ नाफा उठाएर लगानीकर्ताहरुले जलविद्युत कम्पनीहरुमा सिफ्ट भई लगानी बढाउँदा मंगलबार जलविद्युत उपसमूहको सूचक ५.३४ प्रतिशत बढेको छ ।

मल्टीपर्पस फाइनान्स, अपर तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्यमा मंगलबार पोजेटिभ सर्किट लागेको हो । सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य पनि ९ प्रतिशत बढीले बढेको छ ।

आज नेप्से सूचक सामान्य बढेको छ । नेप्से ४.४२ अंकले वृद्धि भई १३१२.१४ बिन्दुमा बन्द भएको छ। क वर्गको कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स् ०.११ अंकले बढेर २७९.९१ अंकमा पुगेको छ।

नेप्से सूचक सकारात्मक रहेपनि सोमबारको तुलनामा कारोबार रकम भने ४१ करोड रुपैयाँले घटेर ८१ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ । मंगलबार १७३ कम्पनीका ३१ लाख २ हजार २८४ कित्ता शेयर किनबेच भयो । सोमबार १ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १२ उपसमुहमध्ये अधिकांश सूचकहरु सकारात्मक बन्दा ३ भने नकारात्मक बनेका छन्। हाइड्रोपावर सबैभन्दा धेरै ६४.६० अंकले सुधार भएको छ । यस्तै जीवन बीमा ४२, निर्जीवन बीमा २८.०६, वित्त १०.५१, व्यापार २.७, होटल २.५८, विकास बैंक २.४४, वाणिज्य बैंक ०.०८ र म्युचुअल फण्डको सूचक ०.०५ अंकले सकारात्मक भएका हुन्। उत्पादन तथा प्रशोधन ३३.३४ अंक, लघुवित्त ३.०५ र अन्यको सूचक १.१६ अंकले ऋणात्मक रहे।

मंगलबार नेपाल बैंकको कारोबार शिर्ष स्थानमा रह्यो। बैंकको ८ करोड ६६ लाख बराबरको कारोबार भएको छ । शिवम् सिमेन्टस्को शेयर पनि ६ करोड ८८ लाखको कारोबार भएको छ।

यसैगरि बुटवल पावरको ५ करोड ९६ लाख, अपर तामाकोशीको ४ करोड ९६ लाख, सानिमा हाइड्रोको ४ करोड २५ लाख र प्राइम बैंकको २ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबारको शेयरबजारबाट समीट माइक्रोफाइनान्सको शेयरधनीहरुले सबैभन्दा धेरै ७.०५ प्रतिशतले गुमाएका छन् । सिन्धु विकास ५.२२, तथा घलेम्दी हाइड्रो, हिमालयन डिस्टीलरी, मिथिला लघुवित्तको शेयरमुल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।