खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो

0
Shares

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि विद्युतीय प्रणाली (अनलाइन) बाट सामानको बिक्री शुरु गरेको छ।लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने लक्ष्यका साथ विद्युतीय कारोवार शुरु गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निर्देशनअनुसार नै कम्पनीले दैनिक उपभोग्य वस्तुको विद्युतीय माध्यमबाट जानकारी लिने र सोही अनुसार बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो। कोरोनाको सङ्क्रमणका त्रासका कारण उपभोक्ताले सहज रुपमा दैनिक उपभोग्य वस्तु पाऊन् भन्ने ध्येयका साथ यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ ।

सोही कम्पनीले लकडाउनको समयमा चीनबाट ल्याइएको विद्युतीय चुल्होसमेत बिक्री गरेको थियो। कूल सात हजार ३०० थान विद्युतीय चुल्होमध्ये अधिकांश बिक्री भइसकेका छन्। लकडाउनको समयमा खाना पकाउने एलपी ग्यासको अभाव देखिने अवस्था आएपछि कम्पनीका चुल्हो खरिद गर्न चाहने उपभोक्ता उस्तै रहेका छन्। दैनिक ३०० भन्दा बढी चुल्हो बिक्री भएका छन्।

यही अवस्थालाई ध्यानमा दिएर कम्पनीले अझै चुल्हो खरीद गरेर ल्याउने र बिक्री गर्ने योजना बनाएको छ। सरकारले विद्युतीय उपकरण प्रयोग गर्न र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न समेत यसअघि नै आग्रह गरेको छ । कम्पनीका अनुसार तत्काल १० हजार थान विद्युतीय चुल्हो जरुरी छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालका अनुसार सरकारी स्वामित्वको कम्पनीले आजदेखि काठमाडौं उपत्यकामा अनलाइनबाट दैनिक उपभोग्य वस्तुको माग लिने र घरघरमा नै पु¥याउने प्रणाली विकास गरेको छ ।

काठमाडौं उपत्यकाको विशेषगरी चक्रपथ क्षेत्रमा त्यस्तो सुविधा प्रदान गरिनेछ। सचिव अर्यालका अनुसार चक्रपथभित्र बसोबास गर्ने उपभोक्ताले दैनिक उपभोग्य वस्तुको माग गर्न सक्नेछन्। सो योजनालाई बिस्तारै काठमाडौँ उपत्यकाबाहिर समेत विस्तार गरिने मन्त्रालयले जनाएको छ । सचिव अर्यालले भने, “शुरुआत गरिएको छ, यसलाई क्रमशः विस्तार गरिँदै लगिनेछ ।”

कम्पनीले सामान माग गरेको बढीमा दुई दिनभित्र उपलब्ध गराउने जनाएको छ। तत्काललाई दुई हजार बराबरको दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ। लकडाउन अवधिभर त्यसरी माग गरिएको सामग्रीमा थप शुल्क नलिने समेत कम्पनीले जनाएको छ।

त्यसका लागि उपभोक्ताको सम्पर्क नम्बरमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सानो मन्सुली, जीरा मसिनो, जापानी चामल, कर्णाली सिमी फापर लगायतका खाद्य वस्तु उपलब्ध गराउनेछ ।

कम्पनीको बेवसाइटमा गएर उपभोक्ताले आफूलाई आवश्यक वस्तु माग गर्न सक्नेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरु गरेको ‘होम डेलभरी’ सेवाबाट उपभोक्ताले लाभ लिन सक्नेछन् ।

त्यसका लागि नगद वा ई–पेमेन्ट गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले उपभोक्तालाई ई–पेमेन्ट विधि अपनाउन आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीको अञ्चल कार्यालय, काठमाडौँमा सम्पर्क गर्न सकिनेछ । यस्तै ०१४२४६३८९ वा ९८४८४४४९४४ टेलिफोनसमेत गर्न सकिनेछ ।

यस्तै आज वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा बढी मूल्य लिई कुखुराको मासु बिक्री गरेको पाइएपछि एक व्यवसायीलाई दुई लाख जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका–३१ विजयनगरमा रहेको मुस्कान मासु पसलमा बढी मूल्य लिएर कुखुराको मासु बिक्री गरेको पाइएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मासु पसललाई दुई लाख जरिवाना गरेको हो। बढी मूल्यमा कुखुराको मासु बिक्री गरेको स्थानीयवासीको गुनासोपछि विभागले आज अनुगमन गरेको थियो। अनुगमनका क्रममा कैफियत पाइएकाले जरिवाना गरिएको विभागको भनाइ छ।

विभागले लकडाउनको समयमा कुनै गुनासो भए पैसा नलाग्ने १६६००१३३०४४ नंको टोल फ्री नंमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै ११३७ नंको पैसा नलाग्ने फोन नंसमेत सञ्चालनमा ल्याइएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर अनुगमन गरिरहेका छन्। उनले लकडाउनको समयमा कुनै पनि नागरिक भोकै बस्नु नपरोस् भन्ने ध्येयका साथ अनुगमनलाई प्रभावकारी बनाइएको जानकारी दिएका छन्।