भारतबाट भित्रिने मालबाहक गाडीबाट कोरोना फैलिने त्रास

0
Shares

जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन्।

हाल मेची भन्सार कार्यालयको परिसरभित्र लकडाउन र नाका बन्द भए यता नेपाल भित्रिएका अढाई सयभन्दा बढी भारतीय मालवाहक ट्रक पार्किङ गरेर राखिएका छन्। चालक तथा हेल्परहरु रातभरि गाडीभित्रै सुत्छन् भने दिउँसो कोही वरपर हिँड्छन्। उनीहरुमध्ये अधिकांशले मुखमा मास्क लगाएका हुँदैनन्।

उनीहरु भारतको विभिन्न प्रान्तबाट कोइला लगायतका सामान लोड गरिएको गाडी लिएर नेपाल आएका हुन्। भन्सार परिसरमा भारतीय गाडीसँगै आएका अढाई सयको हाराहारीमा चालक दलका सदस्यहरु बिना क्वारेन्टिन बसिरहेका छन्।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले मंगलवार एकै दिन ११४ वटा मालवाहक गाडी भित्रिएको स्वीकार गरे। आयातित ट्रकहरुले सामानको कागजपत्र भन्सारमा नबुझाइसकेको हुँदा के सामान बोकेको र कहाँ लैजाने भन्ने थाहा हुन बाँकी भएको भन्सार प्रमुखको भनाइ छ।

मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौलाले कोरोनाको उच्च जोखिमका बेला भारतीय गाडी भित्रयाउनु चिन्ताजनक विषय भएको बताउँदै यसरी मालसामान र गाडी भित्राउने कार्य रोकिनुपर्ने माग गरे। उनले भित्रिसकेका गाडीलाई भन्सारभित्रै लक गरेर राख्न र त्यसका चालक दललाई १४ दिनसम्म क्वारेन्टिनमा पठाउन माग गरेका छन्।

होटल व्यवसायी क्षेत्रीय संघ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङले पनि भारतबाट लगातार गाडीहरु भित्रिएकोमा आपत्ति व्यक्त गरेका छन्। उनले यसलाई नरोके कोरोना भित्रिने डर बढेको बताए।

दुई दिन अघि मेचीनगर–१५ ज्यामिरगढी पुगेका भारतीय ३ वटा गाडीलाई स्थानीय युवाले रोकेपछि प्रहरीेले बाध्य भएर सुरक्षासहित फर्काएको थियो।

मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले माथिबाट आदेश नआएसम्म भन्सार बन्द गर्न नसकिने बताए।

‘भन्सारबाट आयात निर्यात रोक्ने कुनै निर्देशन आएको छैन,’ उनी भन्छन्, –‘कोलकाता बन्दरगाहमा एक महिनादेखि रोकिएका धेरैजसो सामान अहिले धमाधम आउन थालेका छन्, भारत र नेपाल कसैले पनि भन्सारमा सामान रोक्न मिल्दैन।’

तर भारतबाट आएका गाडीहरुलाई आउनासाथ निसंक्रमणका लागि कोरोना भाइरसविरुद्धको स्प्रे गरिने र चालक दललाई ज्वरो नापिने गरेको उहाँले जानकारी दिए। गाडीहरु चाहिँ अत्यावश्यक सामान रहेछ भने गन्तब्यसम्म जान दिइएको उनले बताए। चालक दललाई क्वारेन्टिनमा राख्ने कि नराख्ने विषयमा प्रशासनसँग छलफल भइरहेको समेत उनले बताए।