सात महिनामा ७३ अर्बले बढ्यो सार्वजनिक ऋण, वैदेशिक अनुदानमा सुधार

0
Shares

चालु आर्थिक वर्ष २०७६/७७ को ७ महिना अवधिमा संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक ऋण ७३ अर्ब रुपैयाँले सार्वजनिक ऋण बढेको अर्थ मन्त्रालययले जनाएको छ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेकोमा चालु आवको माघ मसान्तसम्म आइपुग्दा ११ खर्ब १४ अर्ब ८१ करोड पुगेको हो।  आव २०७५/७६ मा मात्र सरकारको ऋण १३.६५ प्रतिशतले वृद्धि भएकोमा चालु आवको ७ महिनामा ७.०१ प्रतिशतले वृद्धि भएको हो।

कूल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड र आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ रहेको छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार गत आवको अन्त्यसम्म(असार मसान्तमा) अन्तर्राष्ट्रिय ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ र आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब २३ करोड रहेको थियो।

माघ मसान्तसम्मको अवधिमा संघीय सरकारले बाह्य ऋणतर्फ १० अर्ब ३२ करोड ८९ लाख रुपैयाँ सावाँ र २ अर्ब १३ करोड ६४ लाख ब्याज गरि कूल १२ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ।
त्यसैगरी, आन्तरिक ऋणतर्फ २ अर्ब ४० करोड बराबरको साँवा र १० अर्ब ६५ करोड ४४ लाख बराबरको ब्याज गरि कूल १३ अर्ब ५ करोड ४४ लाख भुक्तानी गरेको छ।

नेपालले विश्व बैंक र एसियाली विकास बैंकमार्फत नै ५ खर्बभन्दा माथिको ऋण लगानी छ भने इन्टरनेशनल फण्ड फर एग्रीकल्चर डेभलपमेन्ट, यूरोपियन इन्भेष्टमेन्ट बैंकजस्ता निकायबाट पनि ऋण लिएको छ। यस्तै भारत, चीन, जापान, कोरिया, साउदी अरव, फ्रान्स, कुवेत, अष्ट्रिया, बेल्जियमजस्ता मुलुकबाट नेपालले ऋण लिने गरेको छ।

  • फागुनसम्म एक खर्ब ९ अर्ब वैदेशिक सहायता प्रतिबद्धता

यस्तै अर्थ मन्त्रालयले आर्र्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्ममा १ खर्ब ९ अर्ब २८ करोड बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको जनाएको छ। जसमध्ये अनुदान १६ अर्ब २० करोड र ऋण ९३ अर्ब ८ करोड रहेको छ ।

उक्त प्रतिबद्धतामा अनुदान र ऋणको हिस्सा क्रमश १४.८२ प्रतिशत र ८५.१८ प्रतिशत रहेको छ। गत आर्र्थक वर्थको सोही अवधिमा यस्तो हिस्सा क्रमश १२.६ प्रतिशत र ८७.४ प्रर्तशत रहेको थियो। यसरी हेदा पछिल्लो आवको यसै अवधिमा २.२२ प्रतिशतले अनुदान वृद्धि भएको छ भने सोही अनुपातमा ऋणको हिस्सा घटेको हो।

  • वैदेशिक अनुदान १०६.४% बढ्यो, ऋणमा ४६.५% ले कमी

चालु आर्र्थिक वर्षको फागुन मसान्तसम्ममा संघीय सरकारले प्राप्त गरेको वैदेशिक अनुदान गत आर्र्थक वर्षको सोही अवधिको ७ अर्ब ६८ करोडको तुलनामा १०६.४ प्रतिशतले बढेर १५ अर्ब ८५ करोड पुगेको छ। त्यसैगरी, यस अवधिमा संघीय सरकारले प्राप्त गरेको वैदेशिक ऋण गत आर्र्थिक वर्षको सोही अवधिको ४४ अर्ब २७ करोडको तुलनामा ४६.५ प्रतिशतले कमी आई २३ अर्ब ६७ करोड रहेको छ।