सांसद कर्मा घलेद्धारा सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग

0
Shares

नेपाली कांग्रेसका नेता तथा सांसद कर्मा घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई १० हजार लिटर सुरक्षा ब्राण्डको सेनिटाइजर हस्तान्तरण गरेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई घलेले आफ्नो औषधी उत्पादक कम्पनी सुमी फर्मास्युटिकलको तर्फबाट सरकारलाई उक्त परिमाणको सहयोग शुक्रबार गरेका हुन्।

सांसद घलेले शुक्रबार नेपाल सरकारलाई पहिलो चरणको सहयोग स्वरूप ३ हजारलिटर सुरक्षा स्यानिटाइजर स्वास्थ्य तथा जनसंख्या मन्त्रीमार्फत हस्तान्तरण गरेको र सातै प्रदेशका लागि स्यानिटाइजर सुमी फार्मास्युटिकल्सको फ्याक्ट्रिबाट सम्बन्धित सामाजिक विकास मन्त्रालयसम्म चाँडैपुग्ने व्यवस्था मिलाइएको जानकारी दिए। उनले अब प्रत्येक प्रदेशलाई एक हजार लिटरका दरले सात हजार लिटर प्रदान गर्नेछन्।

मन्त्री ढकालले स्यानिटाइजर बुझ्दै भने ‘कोभिड १९ को विरुद्ध सरकारले चलाइरहेको अभियानमा ऐक्यबद्धता जनाउँदै सरकारको साथमा छौं, जनातको साथमा छौं, राष्ट्र नै एकै ठाउँमा उभिएर हामी सबैले सहयोग गनुपर्छ भन्ने भावनाका साथ यसभन्दा अघि भएको कुराकानी अनुसार प्रत्येक प्रदेशमा १।१ हजार सम्बन्धित प्रदेशमा पठाउनेछौं।  सबै अस्पतालमा रहेको सेनिटाइजरको अभावलाई यो सहयोग परिमाणले निकै ठूलो सहयोग पुर्याउनेछ भन्ने विश्वास सरकारले लिएको छ।’ 

उनले सरकारको तर्फबाट संस्थालाई र उत्पादन गरेर सबैभन्दा पहिला पवित्र काममा लगाउने उदेश्यले अहिले महामारीबाट पीडित भएको ठाउँहरुमा राहत पुर्याउनका निम्ति सहयोग गन सम्झिएर आउनुभएकोमा नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको तर्फबाट हार्दिक धन्यवाद र आभार व्यक्त गरेका थिए।

औषधी व्यवस्था विभागका अनुसार एक मिलिलिटरको सेनिटाइजरको मूल्य एक रुपैयाँ पच्चीस पैसा पर्दछ। यसअनुसार घलेले १ करोड २५ लाख रुपैयाँ बराबरको सहयोग गरेका हुन्। सुमी फर्मास्युटीकलले नवलपुर गैडाकोटमा रहेको कारखानाबाट उक्त सेनिटाइजर उत्पादन गरेको हो।

प्रतिनिधिसभा सदस्य घलेले सहयोग गरेको सेनिटाइजर हरेक प्रदशेमा १/१ हजार लिटरका दरले ७ हजार लिटर र केन्द्रका विभिन्न अस्पतालमा वितरण गर्न ३ हजार लिटर वितरण गरिने स्वास्थ्य मन्त्रालयको प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

घले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा मनाङबाट प्रतिनिधित्व गर्ने सांसद हुन्।

प्रकाशित मिति: २८ चैत २०७६, शुक्रबार  १८ : ०७ बजे