सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”को बाँडफाँड गरेको छ।

बैंकले २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर १,००० अंकित मूल्यका २५ लाख  कित्ता ऋणपत्र मध्ये सामूहिक लगानी कोषका लागि संरक्षण गरिएको ५० हजार कित्ता मध्ये ३० हजार कित्ता डिबेन्चर बाँडफाँड भएको हो ।

बाँकी २४ लाख ७० हजार कित्ता व्यक्तिगत तवर तथा सर्वसाधारणको लागि फागुन २० गतेदेखि चैत ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोेमा रितपूर्वक आवेदन दिने ३१७ जना आवेदकहरु मध्ये सर्वसाधरण समूहका आवेदकहरु सम्पूर्णलाई निजहरुले आवेदन गरे बमोजिम ऋणपत्र बाँडफाँट गरिएको बैंकले जनाएको छ ।

साथै व्यक्तिगत तवरमार्फत आवेदन गर्नेको हकमा आंशिक बाँडफाँटमा नपरेका ऋणपत्र वापत बाँकी रकम आवेदकहरुले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा चैत ३० गते आइतबारदेखि आइपीएसमार्फत सिधै बैंक खातामा रकमान्तर गरिने पनि बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोनाभाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

साथै बैंकको ए.टी.एम कुनै पनि बैंकको ए.टी.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।