आजदेखि काठमाडौँ उपत्यकाका क्वारेन्टाइनको स्थलगत अवलोकन

0
Shares

सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ ।

विदेशबाट आएका तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार मापदण्ड पूरा भएनभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो ।

सोहीअनुरुप शनिबार मध्याह्न स्थानीय पशुपतिनाथ क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

मन्त्रिपरिषद्को यही चैत १६ गतेको बैठकले राज्यमन्त्रीद्वय शहरी विकास रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

राज्यमन्त्री मानन्धरले श्क्रबार काठमाडौँ उपत्यकाका १८ वटै नगर प्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका थिए । छलफलमा राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले शनिबारदेखि अनुगमनलाई तीव्रता दिन लागेको जानकारी दिए ।

मुलुक विपद्का घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने बताउँदै राज्यमन्त्री मानन्धरले स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक रहेकामा धन्यवादसमेत दिए । स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा साथ दिइरहे पनि कतै अन्योल देखिएकाले जनताको जीवन रक्षाका लागि छिटोछरितो ढङ्गले काम गर्न आग्रह गरे ।

क्वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्डानुसारको काम गर्न समस्या आए आफू सहजीकरणका लागि तयार भएको बताउँदै राज्यमन्त्री मानन्धरले विपद्को सामनाका लागि गम्भीर ढंगले लाग्न सबैलाई आग्रह गरे । राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापनको खर्चबारे चिन्ता नलिन काठमाडौँ उपत्यकाका नगर प्रमुखलाई आग्रहसमेत गरे ।

काठमाडौंँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्वारेन्टाइनबारे दुई दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने छ ।

भक्तपुरको कृषि तालीम केन्द्रमा ६०, खरीपाटीमा १७५ तथा खानेपानी तालीम केन्द्रमा ७० शय्याको क्वारेण्टाइन तयारी अवस्थामा छ । यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय तथा पशुपतिनाथ क्षेत्रमा ७० शय्या क्षमताको क्वोिन्टाइन मापदण्डअनुसार छन् ।

प्रकाशित मिति: २९ चैत २०७६, शनिबार  ०९ : ११ बजे