सरकारले बढायो कोभिड १९ को नमुना संकलन र परीक्षणको दायरा, दैनिक ९०० परिक्षण हुन थाल्यो

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को नमुना संकलन र परीक्षणको दायर बढाएर दैनिक करिब एक हजार पुर्याएको छ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मात्र ८९७ जनाको थप नमुना परीक्षण गरिएको जानकारी दिए। ।

उनले शनिबारसम्म कूल ४ हजार ४२६ वटा नमुना परिक्षण सम्पन्न हुँदा थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको पनि बताए।

मन्त्रालयका प्रवक्ता देवकोटाले ठूलो समुदायमा संक्रमण छ/छैन भनेर र्यापिड डाइग्नोस्टिक टेस्ट थालिएको पनि बताए।

परिक्षण बढेपनि नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको र संक्रमित आठै जनाको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए। संक्रमित ८ जनामध्ये टेकुमा २ जना वाग्लुङ्गमा २ जना, सेती अस्पतालमा ४ जना रहेका छन्।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गत २४ घण्टामा ६०९ जना सहित कूल ३ हजार ३९२ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौं उपत्यका बाहिर गत २४ घण्टामा २८८ वटा गरि कूल ७४२ नमूना परीक्षण भएका छन् ।

हालसम्म नेपालभरि संघीय, प्रदेश र स्थानीय तहमा रहेका सहित कूल ८ हजार ८२ जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने ८२ रहेको छ । सोमध्ये काठमाडौं उपत्यकामा १५ र उपत्यका बाहिर ६७ जना रहेका छन् ।

मन्त्रालयले र्यापिड डाइग्नोस्टिक टेस्टको दायरा पनि बढाएको छ। जसअनुसार हरेक प्रदेशका जिल्ला जिल्लामा टेस्ट किट पुगिसकेको र परिक्षण भैरहेको बताएको छ। यस्तै सुदूर पश्चिमका सबै जिल्लामा टेस्ट किट प्रयोग भैसकेको र परिक्षण हुने क्रम जारी रहेको जनाइएको छ।

मन्त्रालयले स्थापना गरेको ११३३ र १११५ गरि २ वटा कल सेन्टरको नम्बरमा गत २४ घण्टामा ३ हजार ४० वटा जिज्ञाशा सम्बोधन गरेको छ। मोबाइल एप डाउनलोड गर्नेको संख्या २५ हजार धेरै पुगेको छ भने मोबाइल एपमा कूल इष्ट्रि गर्नेको संख्या गत २४ घण्टामा ६६६ सहित कूल १४ हजार ११६ पुगेको छ। यस्तै एपमा संप्रेषण गरेको विवरणका आधारमा ५ जना रेड जोनमा परेका छन्। यसससँगै कूल १९९ जना रेड जोनको लिस्टमा रहेका छन्। 

  • वीर र टेकुबाट पनि कोरोनाको नमुना परिक्षण

सरकारले वीर अस्पतालबाट पनि कोभिडको नमुना परिक्षण सुरु गरेको छ भने भोलिदेखि टेकु अस्पतालमा पनि सुरु हुने भएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यससँगै उपत्यकामा वीर, टेकु र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला गरि तीन र उपत्यका बाहिर १० गरि कूल १३ स्थानबाट नमुना परिक्षण हुने बताए।

हाल काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुँदै आएकामा आजदेखि वीर अस्पतालबाट समेत परीक्षण थालिएको हो । आइतबारदेखि टेकु अस्पतालबाट समेत नमूना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरमा शुरु भएसँगै आजदेखि उपत्यकामा दुई ठाउँबाट परीक्षण थालिएको छ । टेष्ट बढाउनका लागि भनेर धेरै प्रश्न आएको उल्लेख गर्दै डा. देवकोटाले काठमाडौँ उपत्यका बाहिर धेरै ठाउँमा शुरुआत भइसकेको र केही ठाउँमा यन्त्र जडान कार्य जारी रहेकाले छिट्टै शुरु हुने बताए । ७७ जिल्लाबाट परीक्षण गराउने प्रक्रियामा सरकार रहेको छ । पिसिआरबाट हुने नमूना परीक्षणको दायरासमेत बढिरहेको डा देवकोटाले भने।

प्रकाशित मिति: २९ चैत २०७६, शनिबार  १६ : ४६ बजे