कोरोनाबाट लण्डनमा थप एक पूर्व गोरखा सैनिकको मृत्यु

0
Shares

यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमवार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ ।

लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमवार बिहान ७ बजे निधन भएको हो ।

उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताएका छन् । गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ ।

पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए । कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने उनको स्वास्थ्यसमेत निकै राम्रो थियो ।

अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली ९ पुगेका छन् । तीमध्ये ६ जना पूर्वगोरखा सैनिक छन् । 

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलबार  १० : ०८ बजे