बाग्लुङकी ६५ वर्षिया महिलाको परीक्षण नतिजा नेगेटिभ आयो

0
Shares

गत चैत ४ गते बेल्जियमबाट कतार एअरवेयजको जहाजमा कतारको दोहा हुँदै बाग्लुङ्ग आएकी कोरोना संक्रकित बागलुङकी ६५ वर्षीया महिलाको बिहीबार गरिएको परीक्षणको नतिजा नेगेटिभ आएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा यस्तो नतीजा आएको बताए। यसअघि गरिएको दोस्रो परीक्षणमा भने महिलाको नतिजा पोजेटिभ आएको थियो।

ती महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ। २४ घण्टा भित्र गरिने अर्को नतिजा पनि नेगेटिभ आए विरामीलाई डिस्चार्ज गर्न सकिने धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए।

उनी चैत्र १९ गतेदेखि धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचाररत छिन्। सँगै फर्किएकी १९ वर्षीया नातिनी अंशु सापकोटाको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ। उनीहरू दुबैजना बेल्जियमबाट एउटै फ्लाइटमा नेपाल आएका थिए।

प्रकाशित मिति: ४ वैशाख २०७७, बिहीबार  १९ : ४० बजे