कृषि कार्यका लागि ट्याक्टरको न्यूनतम भाडादर निर्धारण

0
Shares

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्याक्टरको भाडादर निर्धारण गरिएको छ। यसअघि व्यवसायीले लिँदै आएको भाडादरलाई समायोजन गरिएको हो।

नगरपालिकाले व्यवसायी समेतको उपस्थितिमा सरोकारवालाहरुसँग छलफल गरेर ट्याक्टरको नयाँ भाडादर कायम गरेको वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए। कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए।

सर्वपक्षीय छलफलबाट ट्याक्टरको कल्टिभेटर जोताइ भाडा प्रतिघण्टा १ हजार २ सय ५० रुपैंयाँ र रोटाभेटर जोताइ भाडा प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ कायम गरिएको छ। यस्तै थ्रेसरको भाडा प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ निर्धारण भएको लुम्बिनी ट्याक्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले बताए।

अब तिलोत्तमा नगरपालिकाले सरोकारवालाहरुसँगको छलफलबाट निर्धारण गरेको भन्दा बढी भाडा कसैले लिन पाउने छैनन्। तर, तोकिएभन्दा कम भाडा लिन व्यवसायीले सक्नेछन्। तिलोत्तमा नगरपालिकाले ट्याक्टरको वैज्ञानिक भाडादर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो।

तिलोत्तमाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ। प्रमुख खाद्यबाली धान, गहुँ, मकैंको यहाँ ठूलो परिमाणमा उत्पादन हुने गर्दछ। स्थानीय सरकारले ट्याक्टरको भाडादर निर्धारण गरेकोमा किसानले खुसी व्यक्त गरेका छन्।

डिजेलको मूल्य र बजारको अवस्थाको आधारमा आगामी दिनमा भाडादरलाई समायोजन गरेर अघि बढिने वडाध्यक्ष न्यौपानेले बताए। यसअघि तिलोत्तमाका कतिपय वडामा कल्टिभेटरको पन्ध्र सय तथा रोटाभेटर र थ्रेसरको दुई हजार एक सयसम्म प्रतिघण्टा भाडा लिने गरिएको थियो।

 

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  १५ : २४ बजे