नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३५ करोड ९७ लाख रुपैयाँ एक वर्ष अवधिको लागि मुद्दती निक्षेपमा बचत राख्ने भएको छ।
बैंकले आफ्नो विभिन्न कोषमा रहेका रकम आगामी जेठ १ देखि एक वर्ष अर्थात २०७८ जेठ १ गतेसम्म (३६५ दिनको) मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। बैंकले २०७८ बैशाख ३० गतेसम्म त्रैमासिक रुपमा व्याज भुक्तान हुने गरी लगानी गर्ने जनाएको छ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई २८ करोड ७९ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५ करोड ३९ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १ करोड ७९ लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा दिने ब्याजदर समेत खुलाई बैशाख १२ गते शुक्रबार अपराह्न १२:३० बजेसम्म वित्त व्यवस्थापन विभागमा आइपुग्ने गरी आवेदन गर्न सक्नेछन्।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कूल कर्जाको पाँच प्रतिशत भन्दा कम भएको, आव २०७५,७६ मा सञ्चालन मुनाफामा रहेको, संस्ताको सञ्चालक वा सीईओलाइ राष्ट्र बैंकले कारवाही नगरेको हुनुपर्ने जस्ता शर्तहरु पूरा गरेको हुनुपर्नेछ।
त्यसैगरी खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, तोकिएको सीमाभन्दा बढी रियल स्टेट कर्जा प्रवाह नभएको, समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएको अवस्थामा पनि फुकुवा भएको ६ महिना अवधि पूरा भएको र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।








